दार्जीलिङ घर फिर्ता, उपाधिका लागि आयोजक र चर्च भिड्ने



भूपेन्द्र तिम्सिना,
१ जेठ, उर्लाबारी।
मोरङको उर्लाबारीमा सञ्चालित मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आयोजक र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुने भएको छ ।
आजको अन्तिम सेमीफाइनबाट भारतको दार्जीलिङ ११ पाखा लागेपछि चर्चको भेट आयोजकसँग पक्का भएको हो।
आजको खेलमा चर्चले ४-२ गोल अन्तरले दार्जीलिङलाई पराजित गरेको छ ।
सो खेलमा चर्चका राजिव गुरुङले खेल शुरु भएको तेस्रो मिनटमै गोल गरेर आफ्नो टिमलाई उत्साहित बनाए । पहिलो हाफकै ४१ औं मिनटमा अरुण श्रेष्ठको पासमा आङ्वु शेर्पाले हेडमार्फत अर्को गोल थपेपछि मध्यान्तर सम्ममा चर्च २-० ले अगाडि रह्यो।


दोस्रो हाफको चौथो मिनटमा दार्जीलिङका क्याप्टेन वाङ्देन लामाले १ गोल फर्काएर आफ्नो टिमलाई उत्साह थप्न सफल भए । सो गोलपछि दार्जीलिङले चर्चमाथि दवाव बढाएको थियो । खेलको १८ औं मिनटमा दार्जीलिङका प्रनेश देवानले अर्को गोल थपेर खेल बराबरीमा पुर्‍याएका थिए ।
निर्धारित समयमा २-२ गोल भएर खेल बराबरी भएपछि १५ मिनट समय थप गरिएको थियो ।
अतिरिक्त समयको पहिलो हाफको छैटौं मिनटमा चर्चका वर्षात गुरुङले १ गोल थपेर आफ्नो टिमलाई अग्रता दिलाए । पुनः दोस्रो हाफको तेस्रो मिनटमा जाङ्वु शेर्पाले अर्को गोल थपेर खेललाई ४-२ ले अगाडि बढाएर आफ्नो जीत सुनिश्चित बनाए ।
आयोजकले डिफेन्डिङ च्पाम्पियन दमक फुटबल क्लब झापालाई १-० गोलले हराउँदै आफुलाई सेमीफाइनल प्रवेश गराएको थियो ।
दार्जीलिङले गत वर्षको एन्फा कप विजेता झापा ११ लाई टाइब्रेकरमा ६-५ गोलले तथा चर्चले भारतको दार्जीलिङस्थित कञ्चनजंघा फुटबल क्बललाई ५-० को फराकिलो अन्तरले पराजित गरी आफुलाई सेमीफाइनलमा उतारेको थियो ।
भोलीको मैत्रीपूर्ण खेल आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानका कर्मचारी र पत्रकारबीच हुनेछ ।
पर्सी प्रतियोगिताको फाइनल खेल हुनेछ । एमालेकी उपाध्यक्ष एवम् स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुनेछ आयोजकले जनाएको छ।





Comments