भुकम्प प्रभावित क्षेत्रमा राहत समाग्री लिएर जाने लिम्बूवान नै पहिलो पार्टी - लिङदेन

-->

तेजन खड्का
१६ जेठ, राजघाट।
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले नेपालले सबै राजनीतिक पार्टी र संघ सस्थाहरुलाई भूकम्पले क्षतिग्रस्त बनेको गाउँको पुनर्निर्माणमा लगाउन गोलमेच सम्मेलनको माग गरेका छन् ।
मोरङको राजघाटमा संघीय लिम्बुवान पार्टी, राजघाटले शनिवार आयोजना गरेको एकदिने राजनितीक जनजागरण कार्यक्रममा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन् ।
अहिले मुलुकको पुनर्निर्माणका लागि विदेशीलाई मात्र कुरेर बस्नुभन्दा पनि यतिवेला नेपालीलाई नेपालीकै आड भरोसा चाहिएकाले गोलमेच सम्मेलन गरेर सबैलाई निश्चित स्थानको जिम्मा दिएर पुनर्निर्माण गर्नु अहिलेको आवश्यकता रहेको औंल्याए।

-->
'यतिवेला भूकम्प पीडित नेपालीमा आशा जगाउने काम गर्नुपर्ने आवश्यकता छ, विदेशीलाई कुरेर बस्ने होइन सबै नेपालीले हामी छौं भनेर आशा जगाउने काम गर्नुपर्छ', उनले भने, 'हामीलाई पनि कुनै गाउँ जिम्मा दिए पुनर्निर्माण गर्न तयार छौं ।'
लिङदेनले आफूहरु पुनर्निर्माणमा योगदान गर्न तयार रहेको भन्दै तत्काल आफूहरुलाई राज्यले समन्वय गरेर कुनै एउटा गाउँ पुनर्निर्माणको जिम्मा दिनुपर्ने माग गरे । उनले भने, 'हामीसँग एक हजार दक्ष जनशक्ति छन् । हामी उनीहरुबाट मुलुकको लागि योगदान गर्न चाहन्छौं।'
उनले लिम्बुवान क्षेत्रले प्राकृतिक विपत्ति सामना समिति गठन गराउने योजना बनाएको भन्दै तत्काल संस्था दर्ता गरेर भावी प्राकृतिक विपत्तिको सामना स्थानीय स्तरबाटै गर्न सक्ने गरी तयारी गर्ने बताए ।
पहिचानसहितको संघीय राज्य भएको भए अहिले राहत र उद्दारको लागि काठमाण्डुलाई कुनु पर्ने अवस्था नआउने भन्दै उनले छिटोभन्दा छिटो पहिचानसहितको संघीय राज्य निर्माण गर्नुपर्ने बताए ।
भुकम्प प्रभावित क्षेत्रमा राहत समाग्री लिएर जाने लिम्बूवान नै पहिलो पार्टी भएको उहाँको भनाई थियो । 'कांग्रेस एमाले र माओवादीहरु चुनावका बेला जनताको घर घरमा पुगे, तर आपत विपत्त पर्दा लुकेर बसे', उनले भने, 'अहिले जनजीवन सामान्यतर्फ फर्किंदै गर्दा नेताहरु निस्किरहेका छन् ।'
लिम्बूवानले सकेको सहयोग गरेको जनाउँदै उनले भने, 'अझै सहयोग गर्न तत्पर छौ ।' ठुला भनिएका दलका नेताहरुले जनतालाई आश्वासन मात्र दिएकोले नेताहरु प्रतिको विश्वास घटिसकेको उनको भनाई थियो ।
-->
लिम्बूवानले भूकम्पपछि ललितपुर, धादिङ, सिन्धुपाल्चोक, सुन्दरीजल, गोर्खा र दोलखामा कम्बल, त्रिपाल, म्याट्रेस र खाद्यान्न वितरण गरेको उनले जानकारी दिए।
लिम्बुवान पार्टीले अरुण पूर्व लिम्बुवान स्वायत्त राज्य नभए आन्दोलन गर्ने लिङदेनले दोहोर्‍याए। लिम्बुवान दिँदा देश नटुक्रिने दाबी गर्दै उनले भने, 'लिम्बुवान सदा सदा नेपालमा रहन्छौं। हामीले बनाउने लिम्बुवान सबै जातजातिको साझा लिम्बुवान हुनेछ ।' सिंहदरवारले लिम्बुवानलाई अस्वीकार गरे आफुहरुले पनि सिंहदरवारलाई नमान्ने भन्दै उनले लिम्बूवान आन्दोलन कहिल्यै पनि नरोकिने बताए।

अरनिको उच्च माविको सभाहलमा आयोजित एकदिने जनजागरण कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य केदार धिमाल, भविराज तुम्सा, मोहन बेघा, युएइ अध्यक्ष आवाज लिम्बु, बरुण लाबुङ लगायतले बोलेका थिए। संघीय लिम्बुवान युवा मञ्चका उपाध्यक्ष रवी मादेनले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व गाउँ कार्यसमिति अध्यक्ष दुर्रगाप्रसाद थक्लुङको रहेको थियो ।
यसैबीच सोहि कार्यक्रममा लिम्बूवानमा आवद्ध २ सय जनालाई क्रियाशील सदस्यता बितरण गरिएको पार्टीले जनाएको छ ।

-->

Comments