ज्येष्ठहरुको स्वास्थ्य परीक्षण



१ जेठ, दूधे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापा र दूधे आयुर्वेदले संयुक्त रुपमा माईधारका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेका छन् । शिवसताक्षी -९ माईधारको बृद्धाश्रममा बसेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न गरिएको हो ।

शिविरमा लक्ष्मीनारायण बृद्धाश्रमका ६० बढी बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरी रसायनिक औषधी वितरण गरिएको छ । रसायनिक औषधीले शरीर स्वस्थ्य राख्नुका साथै रोगसँग लड्ने प्रतिरक्षा क्षमताको बृद्धि हुँदै जाने बुधबारे आयुर्वेदका कविराज पुरण लहेरीले बताए ।




जिल्ला आयुर्वेद झापाका प्रमुख डा. सूर्यनारायण मेहता भन्छन्, 'विरामीमा दीर्घ रोग बाथ, दम, शरीरका विभिन्न भागका हाड जोर्नीहरु दुख्ने जस्ता रोग देखिएको छ साथै आश्रमका ज्येष्ठ नागरिकमा भूकम्पको त्रास देखियो । उनीहरु मानसिक रुपमा डराएका छन् ।' अधिकांश विरामीले जतिबेला पनि भूकम्म आएर हल्लाए जस्तो जस्तो हुने, डरलाग्ने, खाना खान मन नलाग्ने, समस्या रहेको बताएको डा. मेहताले जानकारी दिए।

जिल्ला आयुर्वेदले आफ्नो शाखा आयुर्वेदसँग समन्वय गरी विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर, आयुर्वेद औषधीबारे जनचेतान मूलक कार्यक्रम गर्दै आएको छ । यस क्षेत्रका स्थानीयलाई आफ्नै घर आँगनमा भएका जडिबुटीहरुलाई सही प्रयोग गराउनका लागि यसले उल्लेखनीय भूमिका खेलेको बताइएको छ ।


लक्ष्मीनारायण बृद्धाश्रममा बसेकी गोमादेवी बरालले भनिन्, 'म २५ बर्ष भयो, यस आश्रममा बसेको तर यसरी डाक्टर साहेबहरु यहीं आएर औषधी मुलो गरेको यो पहिलो पल्ट हो ।' यसले आफूहरूलाई धेरै राहत मिलेको उनले बताइन्। उनी भन्छिन्, 'हामीलाई यहाँका यस आश्रमका सञ्चालक सदस्य रामप्रसाद पोख्रेलले विरामी हुँदा अस्पतालसम्म लगेर उपचार गर्नेजस्ता कार्यहरुमा सहयोग गर्ने गरेका छन् ।'

दूधे आयुर्वेदमा पनि विभिन्न उमेरका विरामी आउनुका साथै ज्येष्ठ नागरिकहरु पनि धेरै संख्यामा आउने गरेका छन् । ज्येष्ठ नागरिकहरु हिँडडुल गर्न कठिन हुने हुँदा उनीहरु बसेकै स्थानमा गई बृद्धबृद्धालाई सेवा गर्न पाउँदा आफुहरुलाई सन्तुष्ट मिल्ने आयुर्वेद प्रमुख टेकनाथ अर्यालले बताए ।






Comments