बल्ल उठ्यो बिर्तामोडको फोहोर




१३ जेठ, बिर्तामोड।
बिर्तामोड क्षेत्रमा केही समयदेखि थुप्रिएको फोहोर आज बुधबार सरोकारवालाहरुले उठाएका छन् । झापा उद्योग वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष एवम् फोहोर मैला व्यवस्थापन समितिका संयोजक प्रकाश शिवाकोटीको अगुवाइमा सरोकारवालाहरुले फोहोर उठाएका हुन् ।
सातवटा ट्याक्टरबाट ढुवानी गरिएको फोहोर बसपार्क क्षेत्रको खाल्डा खुल्डी जमीनमा एस्काभेटर प्रयोग गरी व्यवस्थापन गरिएको बताइएको छ । वातावरणीय स्वच्छतालाई समेत ध्यानमा राखी उक्त फोहोर गहिरो खाडल खनेर माथिबाट माटोले पुरिएको संयोजक शिवाकोटीले बताए ।
साताभन्दा बढी समयदेखि फोहोर नउठाइँदा बिर्तामोड दुर्गन्धीत बनेको थियो । बुधबार एकसाथ २१ ट्याक्टर फोहोर उठाइएको हो ।




संयोजक शिवाकोटीको अध्यक्षतामा आज विहान भएको एकता हेड्सका अध्यक्ष श्याम गुरुङ, हार्डवेयर व्यवसायी संघका अध्यक्ष मात्रिका कोइराला, बिर्तामोड नगरपालिकाका प्रतिनिधि मेघराज बास्तोला, बसपार्क व्यवस्थापन समितिका विष्णु राई, राष्ट्रिय उद्योग वाणिज्य संघका राजेन्द्र लिङ्गदेन, वाणिज्य संघ बिर्तामोडकी सुनिता ओलीसहितको वैठकले तत्कालका लागि फोहोर उठाई बसपार्क क्षेत्रमा व्यवस्थित ढंगले पुर्ने सहमति भएको थियो । सोही अनुसार फोहोर उठाइएको बताइएको छ ।
फोहोर उठाउनको लागि वाणिज्यसंघ बिर्तामोड र एकता हेड्सको अगुवाईमा नगरपालिकाले सहयोग पुर्‍याएको छ । फोहोर व्यवस्थापन समितिका संयोजक शिवाकोटीले केही दिनका लागि समस्या समाधान भएपनि दिगो व्यवस्थापनका लागि तत्काल डम्पिङ साइटको व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन् । बिर्तामोड, शनिअर्जुन र कनकाई नगरपालिकाको अधिकृतहरुको बैठकले फोहोर व्यवस्थापनका लागि साझा डम्पिङ साइडको व्यवस्था गर्न जग्गा खोजी गर्ने र त्यसका लागि वातावरण मन्त्रालयबाट अनुमति लिने विषयमा पहल अगाडि बढाएको छ ।
धेरै दिनदेखि थुप्रिएको फोहोर अल्पकालीन रुपमा भएपनि व्यवस्थापन गरेर सरोकारवालाले बिर्तामोडलाई सफा सहरको रुपमा अघि बढाउन पुर्‍याएको योगदान प्रशंसनीय रहेको वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष कुमार भट्टराई बताउँछन् ।





Comments