'सत्तारुढ दलले चुनाव जिते सडक छिटो बन्छ'




१२ जेठ, दमक।
दमक-चिसापानी रवि (फाल्गुनन्द मार्ग) सडक निर्माण उपभोक्ता समितिको आसन्न निर्वाचनमा काँग्रेस, एमाले, जनमुक्ति पार्टी लगायतको मुख्य प्रतिष्पर्धी घटकले सरकारमा रहेका दलको हातमा नै उपभोक्ता समितिको नेतृत्व हुनुपर्ने जिकीर गरेको छ ।
पत्रकार सम्मेलनमार्फत मंगलबार आफ्नो प्यानलको प्रतिबद्धता मन्तब्यमा अध्यक्षका उम्मेद्वार प्रकाश बुढाथोकीले झापा, इलाम र पाँचथरलाई जोड्ने यो सडक आसपासका क्षेत्रबाट काँग्रेस र एमालेका मात्र सभासद भएको स्मरण गराए । बुढाथोकीले सत्तारुढ दलको हातमा उपभोक्ता समितिको नेतृत्व भए बजेट र योजनाको प्राथमिकता कायम राख्दै चाँडो सडक निर्माण सम्भव हुने दावी गरे । निवर्तमान समितिका सचिवसमेत रहेका बुढाथोकीले पूर्ववर्ती समितिको पहलमा चालु आर्थिक बर्षमा आठ करोढ रुपैयाँ बिनियोजन भएर काम चालु रहेको पनि बताए ।




यसैबीच अध्यक्षमा मनोनयन गरेका एमालेका होम बहादुर थापा र काँग्रेसका अर्का उम्मेद्वार दिल बहादुर बुढाथोकीले प्रकाश बुढाथोकीलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ताको घोषणा गरेका छन् ।
बुढाथोकी नेतृत्वको प्यानलमा सह-अध्यक्षमा पूर्णबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्षमा मणिकुमार भण्डारी, महिला उपाध्यक्षमा भगवती श्रेष्ठ, उपाध्यक्षमा डिकबहादुर लिम्बु, महासचिबमा हेमन्त राई, कोषाध्यक्षमा मोहन धिमाल र सचिवमा नरेन्द्र लिम्बु र महिला सचिवमा लिलादेबी ढुंगेल (दाहाल)को उम्मेद्वारी परेको छ ।
यसैगरी सदस्यमा केन्द्र प्रसाई, हर्क साम्बा, मनकुमार साम्बा, चन्द्र साँवा, प्रदिपचन्द्र राई, राजेन्द्रकुमार लिम्बु, भुपेन्द्र सुब्बा, पुकारराज राई, कुलबहादुर लिम्बु, बिक्रम अधिकारी, शान्तबहादुर बिक र महिला सदस्यमा दुर्गा काफ्ले (खनाल), हर्कमाया तामाङ र सुजता अधिकारीसमेत २३ जना निर्वाचनको मैदानमा छन् ।
झापाको दमकबाट पश्चिम इलाम हुँदै पाँचथरको रवि बजारलाई छुने ४७ किलोमिटर लामो सडकलाई पश्चिम मेचीको विकासको कोसेढुंगाको रुपमा ब्याख्या गरिएको छ ।
पत्रकार सम्मेलन गठबन्धन प्रचार समितिका संयोजक लोकबहादुर धिमालको अध्यक्षतामा भएको थियो ।
यसअघि एमाओवादी, नेकपा माओवादी, संघीय समाजवादी पार्टी संघीय लिम्बुवान पार्टी, नेकपा एकीकृत र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनले समेत सोमबार नै आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गरिसकेको छ ।
यही जेठ १५ र १६ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा दुई गठबन्धनको प्यानल चुनावी मैदानमा ष्पर्धी छन् ।
तस्वीर - आफ्ना प्यानलको साझा प्रतिवद्धता सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी बुढाथोकी । (विष्णु सुब्बा)




Comments