विष्णु पौेडेल
३१ बैशाख, दमक।
झापाको माहाभारास्थित बालकल्याण माविमा शिक्षासेवी, पूर्व शिक्षक तथा सामाजिक अगुवा विश्वप्रसाद अधिकारीले स्थापना गरेको विश्वप्रसाद अधिकारी अक्षयकोषबाट सम्मान तथा पुरस्कार वितरण गरिएको छ । ज्येष्ठ नागरिक र शिक्षकहरुलाई सम्मान र सो क्षेत्रका विभिन्न तहका उत्कृष्ट विद्यार्थीहरुलाई हौसलास्वरुप पुरस्कार प्रदान गरिएको हो ।
अधिकारीले केही वर्षअघि स्थापना गरेको सो कोषबाट सोही विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षकहरु भोलाप्रसाद खतिवडा, चन्द्रबहादुर खड्का र नारायण बहादुर कार्की सम्मानित भएका हुन् ।
त्यसैगरी बैगुन्धुराकी अछुतामाया न्यौपाने, कोरोबारीका डिल्लीराम लुँइटेल र महाभाराका मानबहादुर लिम्बूलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको छ । उनीहरुलाई दोसल्लासहित सम्मान पत्रबाट सम्मान गरिएको छ । बुधबार बालकल्याण माविमा आयोजित कार्यक्रममा सो क्षेत्रका विद्यालयहरुका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरियो ।
पुरस्कृत हुनेहरुमा गत वर्षको कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्कृष्ट हुने प्रशंसा पाण्डे, एसएलसीका उत्कृष्ट सनम अधिकारी, विनोद हेमरम लगायत पाँचजना छन् । उनीहरुलाई बैगुन्धुरा स्रोत केन्द्रका स्रोत व्यक्ति हरि अधिकारी, शैक्षिक तथा सामाजिक अगुवाहरु बृहस्पति उप्रेती, पर्शुराम काफ्ले लगायतले सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक भीमप्रसाद कोइरालाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । अधिकारीले सो विद्यालयअन्तर्गत रहने गरी कोष स्थापना गरी आफ्नो स्वामित्वको १५ कठ्ठा जग्गाको स्वामित्वसमेत सो कोषमा हस्तान्तरण गरिसकेका छन् ।
Comments
Post a Comment