भूकम्पका कारण पूर्वमा तीन जनाको मृत्यु, ६१ घाइते



३० बैशाख, दमक।
हिजो मध्यान्ह गएको भुकम्पका कारण पूर्वमा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने घाइतेको संख्या ६१ पुगेको छ।
भुकम्पबाट ६ जना प्रहरी कर्मचारीहरुसमेत घाइते भएका छन् ।
भुकम्पका कारण सुनसरी रामधुनी नगरपालिका १० की ६५ वर्षिया दिलकुमारी राई, इटहरी नगरपालिका २० की ९५ वर्षिया सन्तमाया भुजेल र उदयपुर रामपुर ठोक्सिला ३ की ३७ वर्षिया कृष्ण कुमारी श्रेष्ठको मृत्यु भएको छ।
मंगलबार दिउँसो गएको भुकम्प पश्चात हृदयघातबाट राईको मृत्यु भएको हो भने भुकम्पबाट बच्न भाग्नेक्रममा घाइते भएकी भुजेलको गएराति आफ्नै घरमा मृत्यु भएको हो। त्यस्तै भुकम्प गएको समयमा घाँस काट्न रुखमा चढेकी श्रेष्ठको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो।




भुकम्पका कारण हालसम्म झापामा ५, इलाममा २, पाँचथरमा २, मोरङमा ७, सुनसरीमा २, धनकुटामा ३, तेह्रथुममा ५, भोजपुरमा २, संखुवासभामा ४, सप्तरीमा ६, सिरहामा ८, उदयपुरमा ६, ओखलढुङामा ५, खोटाङमा १ र सोलूखुम्बुमा ३ जना घाइते भएको बिवरण प्राप्त भएको छ। घाइतेहरुको पूर्वाञ्चलका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ।
भुकम्पबाट बच्नेक्रममा तेह्रथुम, सप्तरी, संखुवासभा, ओखलढुङा, र सोलुखुम्बु जिल्लामा कार्यरत ६ जना प्रहरी कर्मचारीहरुसमेत सामान्य घाइते हुनुकासाथै मोरङ, धनकुटा, सिरहा, उदयपुर, झापा, इलाम, सोलुखुम्बु र ताप्लेजुङमा रहेको २८ वटा प्रहरी कार्यालयको पर्खाल भुकम्पको धक्काबाट चर्केको छ।
भुकम्पका कारण झापा, भोजपुर र ओखलढुङा कारागारको ड्युटी बस्ने बुर्जा र पर्खालमासमेत क्षति पुगेको छ।
भुकम्प प्रभावित स्थानहरुमा स्थानीय प्रहरीसमेत टोलीद्वारा उद्दार तथा क्षतिको बिवरण संकलन कार्य भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।



Comments