अमेरिकाबाट 'सिनोरिटा' लिएर आए मनोज



९ जेठ, बिर्तामोड।
सातबर्षअघि नयाँ भबिष्य खोज्दै पुनर्वासमा अमेरिका पुगेका एकजना भुटानी संगीतसाधक शनिबार गीती एल्बम सिनोरिटासाथ झापाको बिर्तामोडमा झुल्किए । उनी उनै मनोज राई थिए, जसले भुटानको सरकारी दमन खप्न नसकी खेदिएपछिको २० बर्ष झापाको खुदुनाबारीस्थित राष्ट्रसंघीय शरणार्थी सहायता शिविरमा बिताएका थिए ।
हाल अमेरिकाको फ्लोरिडा राज्यमा पुनर्बासपछि बास पाएका राईले लोकगायक लक्ष्मी जोशी, प्रतिष्ठित गायक सिताराम ताजपुरिया, भारतीय नेपाली संगीतका साधकहरु मधुकर लोहनी, जीवनप्रकाश प्रधान, किरण मोक्तान, बुद्ध लामा, महेशमणि, सोभना, संगीता, भुटानी नेता बलराम पौडेल, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, गीतकार शिवशंकर थापा लगायत एघार जनाको हातबाट आफ्नो सेनोरिटा गिती एल्बम लोकार्पण गराए ।




सिनोरिटा अर्थात् स्पेनिस भाषाकी दिब्यसुन्दरी । "नेपालीमा कान्छी हे कान्छी भनेर गाएजस्तै हो" राईले भने । एल्बममा राईको स्वर र लोहनीको शब्द संगीतमा सजिएका सातवटा गीत छन् ।
लोहनीको एकल गायन प्रस्तुतिसमेत रहेको सो अवसरमा उनले नयाँ पुराना समेत गरी १२ वटा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका मुख्य अतिथि गायक लक्ष्मी जोशी र बिशेष अतिथि सिताराम ताजपुरियाले समेत गीत प्रस्तुत गरेका थिए । बिर्तामोडको शिक्षा बचत तथा ऋण सहकारी संस्थाको संयोजन रहेको कार्यक्रममा स्थानीय र भुटानी शरणार्थी समुदायको उल्लेख्य उपस्थिती थियो ।
तस्वीर - विमोचन कार्यक्रममा गीत प्रस्तुत गर्दै गायक राई


Comments