दमक-रवि चिसापानी सडकको निर्वाचन सम्पन्न, मतगणना हुँदै


१६ जेठ, दमक।
दमक-रवि चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माण उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि दुई दिन लगाएर आज निर्वाचन सकिएको छ । शुक्रवार इलामको बाँझो गाविसको खलङ्गे स्कुलमा र शनिवार दमक-१२ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सभाहलमा गरी दुई चरणमा निर्वाचन सम्पन्न भएको हो ।
निर्वाचनमा मतदाता उपभोक्ताहरुको सहजताका लागि पहाडी र तराई गरी निर्वाचन गरिएको थियो । निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भएको गठित निर्वाचन समितिका सदस्य लीला गुरागाईले जानकारी दिए ।
गुरागाईका अनुसार शुक्रवार इलामको बाँझोमा १ सय ३७ मत र शनिवार दमकमा ८ सय ३० मत खसेको छ । दमकको निर्वाचनमा झापा क्षेत्र नम्बर ६ का संबिधानसभा सदस्य एमालेका दिपक कार्की, कांग्रेसकी समानुपातिक संविधानसभा सदस्य महेन्द्रकुमारी सुब्बा लगायतकाले मतदान गरेका थिए ।



कुल १ हजार १ सय ३ उपभोक्ता मतदाता रहेकोमा शुक्रवार र शनिवार सम्पन्न निर्वाचनमा जम्मा ९ सय ६७ मत खसेको जनाइएको छ । अवेर गरेर सम्पन्न निर्वाचनको मत गणना आज साँड राती ८ बजेबाट नै शुरु गरिएको छ।
उपभोक्ता समितिको र्सवसम्मत नेतृत्व चयनका लागि दलहरुका बीच पदीय भागबण्डा नमिलेपछि निर्वाचनमा दुई गठबन्धनका विच प्रतिष्पर्धा भएको थियो । निर्वाचनमा कांग्रेस, एमाले,जनमुक्ति पार्टीसहितको संयुक्त गठबन्धनबाट अध्यक्षमा प्रकाश बुढाथोकी र एमाओवादी, माओवादी, राप्रपा, नेकपा एकीकृत, संघीय समाजवादी, संघीय लिम्बुवान पार्टीलगायतका दलहरुको गठबन्धनबाट अध्यक्षमा गगन पुरीको नेतृत्वले छुट्टाछुट्टै प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए ।




बुढाथोकीको प्यानल अगाडी हुनसक्ने

भोलि विहानसम्मा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने भएपनि नतिजा भने मिश्रित हुने संभावना छ । तर मुख्य पदहरुमा कांग्रेस, एमालेको गठबन्धन अगाडी आउने अड्कलबाजी गरिएको छ । निर्वाचनमा देखिएको उत्साह र सहभागीता हेर्दा कांग्रेस, एमालेले बढी स्थान ओगट्ने देखिएको छ । यी गठबन्धनले समितिको नौ पदाधिकारी सहित २३ सदस्यीय समितिमा बहुमत स्थान ओगट्ने अड्कल गरिएको छ । अध्यक्ष लगायतका मुख्य पदहरुमा मुख्य राजनीतिक दलहरुका जिम्मेवार तथा अग्रज व्यक्तित्वहरुले उम्मेदवारी दिएका कारणले समेत यी प्यानलले बढी पद जित्ने लक्षण देखिएको छ । कतिपय मतदाताहरुले दमक-रवि निर्माणाधीन सडकको बाँकी काम पूरा गर्न पूराना मानिसलाई जिम्मेवारी दिँदा राम्रो काम हुने विश्वासले पनि यी गठबन्धनले हात पार्ने अवस्था छ ।
यता एमाओवादीसहितको गठबन्धनले साना पदहरुमा चित बुझाउनु पर्ने संभावना देखिन सक्ने अनुमान छ । मूलत वर्तमान सरकारका यी शक्तिहरुलाई जिताए काम गर्न सजिलो हुने विश्वासले पनि यी दलका प्रतिनिधीहरुले बढी स्थान जित्न सक्ने अड्कल गर्न सकिन्छ । निर्वाचनबाट समिति चयन भएपनि हार र जीतले भोलि सडकको काममा समस्या आउन सक्ने समेत उत्तिकै चुनौती देखिँदै गएको छ । त्यसो त साना दलहरुको अस्तित्व यो निर्वाचनले जोड्न नसक्ने हुँदा भने जसरी काम गर्न गाह्रो हुने विश्लेषण गर्न थालिएको छ ।



Comments