मदन गोल्डकपको उपाधि चर्चलाई




भूपेन्द्र तिम्सिना
३ जेठ, उर्लाबारी।
मोरङको उर्लाबारीमा सम्पन्न मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधि चर्च व्वाइज युनाइटेड काठमाडौंले हात पारेको छ।
चर्चले आयोजक मंगलबारे फुटबल क्लबलाई २-० ले पराजित गरी उपाधि चुमेको हो ।
चर्चका सुमन लामाले पहिलो हाफको ३३ औं मिनटमा पहिलो गोल गरेका थिए। उनले विपक्षी पोष्टको नजिकैको दाहिने कुनाबाट सुन्दर प्रहार गरी जाली चुमाउन सफल भएका थिए । मध्यान्तर अघिसम्म चर्चले पाएको ३ वटा कर्नरलाई गोलमा परिणत गर्न सकेन । त्यसबेलासम्म चर्च र आयोजकले एक एक वटा सुनौला अवसर गुमाएका थिए।
खेलमा चर्चले निरन्तर दवाव सिर्जना गरिरहेको अवस्थामा दोस्रो हाफमा भने आयोजकले चर्चविरुद्ध दवाव बढायो । उसले जवाफी गोल फर्काएर बराबरी बनाउने धेरैवटा प्रयास गरेको थियो । त्यही बीचको ३३ औं मिनटमा चर्चका राजीव गुरुङले अर्को गोल थपेर आफ्नो टिमलाई २-० ले विजयी बनाए ।




विजेता टिमका सुमन लामाले म्यान अफ दी म्याचको ५ हजार नगद पुरस्कार हात पारे । म्यान अफ दी सिरिजको उपाधि आयोजकका क्याप्टेन रुपेश तामाङलाई पुरस्कारस्वरुप ल्यापटप प्रदान गरिएको छ ।
आयोजकका सुनिल लामा हाइस्कोरर, आयोजककै संगीत पाँचकोटीलाई उदियमान, चर्चका वर्षात गुरुङलाई अनुशासित पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
चर्चका तर्फबाट जाङ्वु शेर्पा, पाल्साङ लामा, सुमन लामा, वर्षात गुरुङ, बुद्ध लामा, रमेश दंगाल सहितका चर्चित खेलाडी सहभागि थिए । आयोजकको तर्फबाट क्याप्टेन रुपेश तामाङ, दिनेश राजवंशी, सुरेन खवास, हेमन्त थापामगर, सुनिल लामा सहितका राष्ट्रियस्तरका खेलाडीहरु सहभागि थिए ।
आयोजकले डिफेन्डिङ च्पाम्पियन दमक फुटबल क्लब झापालाई १-० गोलले र चर्चले भारतको दार्जीलिङस्थित कञ्चनजंघा फुटबल क्बललाई ५-० को फराकिलो अन्तरले पराजित गरी आफुलाई सेमीफाइनलमा उतारेको थियो ।


मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी मोरङद्धारा मंगलबारेस्थित सालबारी खेलमैदानमा जारी प्रतियोगितामा नेपालका ६ र भारतको दार्जिलिङका २ गरी ८ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनका अवसर नेकपा एमालेकी उपाध्यक्ष एवम् प्रतिष्ठानकी संरक्षक तथा मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन्। उनले देशमा भएको भूकम्पको पीडा कम गर्न र मदन भण्डारीको स्मरणलाई ताजा राख्न गरिएको गोल्डकपको प्रशंसा गरिन्। साथै उनले मंगलबारेस्थित सालबारी खेलमैदानलाई रंगशालाका रुपमा अगाडि बढाउन आफुले सहयोग पुर्‍याउने. बताइन्।
कार्यक्रममा, पूर्व फुटबल खेलाडीहरु सन्तोष वानियाँ, दिपेन्द्र धिमाल, तेजबहादुर थापा, ललित अधिकारी, जंगबहादुर थापा, विक्रमबहादुर धिमाल, महेन्द्र श्रेष्ठ, रुद्र राई, रतन धिमाल, दयाराम धिमाललाई सम्मान गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेता टिमले १ लाख रूपैयाँसहित कप र ट्रफि प्राप्त गरेका छन् ।



Comments