प्रेम सम्वन्ध स्विकार नगर्दा हजुरआमाको हत्या



१७ जेठ, दमक।
आफ्नै हजुरआमालाई हत्या गरी फरार रहेका झापाको मेचीनगरका २३ वर्षीय रञ्जित लिम्बूलाई प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।
इलामको एक घरमा लुकेर बसेको अवस्थामा मेचीनगर–१० काँकडभिट्टाका लिम्बु पक्राउ परेका हुन् ।
गत विहीबार राति आफ्नै ८२ वर्षीया हजुरआमा रणमायालाई घाँटी थिचेर हत्या गरी उनी फरार भएका थिए । प्रहरीले लिम्बूसँगै सोही ठाउँ बस्ने १८ वर्षीया लक्ष्मी विकलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिम्सिनाले जानकारी दिएका छन् । उनी लिम्वुकी प्रेमिका हुन्।



परिवारले अन्तर्जातीय प्रेम सम्बन्धलाई मान्यता नदिएपछि रञ्जितले हजुरआमाको हत्या गरी प्रेमिका लक्ष्मीलाई लिएर फरार भएका थिए । हत्यामा संलग्न दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । लामो समयदेखि लिम्बू र विकबीच प्रेम सम्बन्ध रहेको र त्यो सम्बन्धलाई बचाउन उनीहरुले हजुरआमाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले विहीबार राति २ बजे रणमायाको हत्या गरी उनले कानमा लगाएको मुन्द्री, नाकको फूली, घाँटीको तिलहरी तथा थैलीमा रहेको नगद १० हजार रूपैयाँसमेत लगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।





Comments