३१ बैशाख, दमक।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का स्थानीय बासिन्दाहरु शुद्ध खानेपानीबाट उपभोग गर्नबाट बञ्चित भएका छन् ।
गैंडे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्यांकीमा गत मंगलबार गएको भूकम्पले क्षति पुर्याएपछि यस क्षेत्रका उपभोक्ताहरु दुई दिनदेखि खानेपानी उपभोग गर्नबाट बञ्चित भएका हुन् । खानेपानी आपूर्ति सहज नभएपछि अन्यन्त्र टाढाबाट ल्याएर खानेपानी पिउनु पर्ने बाध्यता भोग्नुपरेको स्थानीयबासीको गुनासो छ ।
भूकम्पले ट्यांकीको तल्लो भागमा तथा बिममा नै क्षति पुर्याएको छ । सो ठाउँबाट पानी चुहिन थालेपछि वितरण प्रकृया अवरुद्ध भएको छ । २०६८ सालमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) काठमाण्डौ र ग्रामीण जनविकास केन्द्रको संयुक्त लगानीमा खानेपानीको ट्यांकी निर्माण भएको थियो । सो क्षेत्रमा टयूवेलमा समेत पानी नआउने र अन्य बैकल्पिक पानीको सुविधा नभएको हुँदा सो क्षेत्रको श्री बालज्योति प्राविका विद्यार्थीहरु सहित स्थानीय २५० घरधूरीका १५ सय बढी उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन् ।
कुल ७५ लाख लगानीमा बनेको ट्याङ्की अहिले दक्षिणतिर ढल्किएको अवस्थामा रहेको छ ।
समितिले क्षतिग्रस्त टयाङ्की मर्मत नभएसम्म उपभोक्तालाई केही राहत दिनका लागि मोटरबाट सिधै पाइपलाइनमा पानी पठाउन लागिएको भएपनि सो कार्य खासै प्रभावकारी नहुँदा झनै समस्या चर्किएको छ । तर त्यसरी पानी पाइपमा पठाउँदा सबै धारामा पानी नपुग्ने, घरमाथि राखिएका ट्याङ्कीमा पानी नचढ्ने हुँदा पानी सञ्चित नहुने देखिएको उपभोक्ताहरुको भनाई छ । समयमा विद्युत आपूर्ति नहुँदासमेत सो तरिका पनि प्रभावकारी नहुने देखिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गायत्री प्रसाद संग्रौलाले बताए।
Comments
Post a Comment