शान्तिनगर पूर्ण खोपयुक्त गाविस घोषणा





११ जेठ, बिर्तामोड।
झापाको शान्तिनगर गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।
१२ देखि २३ महिना भित्रमा नवजात शिशुलाई दिइँदै आएको सम्पूर्ण खोप पूरा भएको पाइएकाले आज आयोजित एक कार्यक्रमकाबीच उक्त गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको शान्तिनगर स्वास्थ्य चौकीका इञ्चार्ज दीपक सापकोटाले जानकारी दिए।
४ हजार २ सय २८ घरधुरी रहेको गाविसमा १९ हजार ६ सय २५ जनसंख्या रहेको छ । जसमध्ये ३ सय १७ जना १२ महिना पूरा गरी २३ महिना पुगेका शिशु रहेको र उनीहरु सवैले पूर्ण खोप पाइसकेकाले पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको सापकोटाले बताए। पूर्ण खोपयुक्त गाविस घोषणा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले गरेका थिए।
स्थानीय महिला स्वयम्सेविका सुधा लिम्वूको छोरा नुगेन लिम्वूलाई दुई थोपा पोलियो खुवाउँदै पूर्ण खोप गाविस घोषणा गरिएको थियो ।



यसअघि धाइजन गाविसलाई जिल्लाको पहिलो पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले जानकारी दिए।
नवजात शिशुलाई एक वर्षको अवधिमा वीसीजी एकपटक, डीपीटी ३ पटक, पोलियो ३ पटक र दादुरा तथा रुवेला एक पटक दिइने गरिन्छ । जसअनुसार गाविसको सर्वेक्षणमा सवै खोप पुरा भएकाले शान्तिनगरलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको बताइएको छ ।
गाविस सचिव सुदर्शन वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी फडिन्द्र दाहाल, नेपाली कांग्रेसका सभापति शेरवहादुर राय, नेकपा एमालेको तर्फबाट लक्ष्मी राई, एकीकृत नेकपा माओवादीको तर्फबाट श्यामवीर राई, महिला स्वयम्सेविकाको तर्फबाट हिमादेवी गौतम, शिक्षासेवी शिवकुमार पौडेल लगायतले वोलेका थिए । कार्यक्रमको सञ्चालन चेतन ढुङ्गेलले गरेका थिए ।


यसैबीच गाविस पूर्ण खोपयुक्त घोषणा भएपछि जिल्ला खोपा समन्वय समिति झापाले गाविस र स्वास्थ्य चौकीलाई प्रमाण पत्र प्रदान गरेको थियो भने महिला स्वास्थ्य स्वयम्सेविका र कर्मचारीलाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मानस्वारुप प्रमाण पत्र प्रदान गरियो ।
सोही अवसरमा गाविसले उत्कृष्ठ महिला स्वयमसेविकालाई नगद प्रदान गर्दै सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कोपिला खतिवडा, रमला लिम्खिम र तुलशा देवी भट्टराई रहेका छन् । उनीहरुलाई जनही नगद एक हजार रुपैयाँ प्रदान गरिएको थियो । हात्ती पाइले कार्यक्रममा औषधि खुवाउने ७ जनालाई नगद पाँचसय रूपैयाँसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जातीय संस्कृति झल्कने प्रस्तुति देखाइएको थियो ।


Comments