भारतीय जातका धान विस्थापित गर्न किसानलाई निःशुल्क विउ



१३ जेठ, दमक।
भारतीय धानलाई विस्थापित गर्न सरकारले नयाँ ३ जातका धानको मिनी किट् किसानलाई निःशुल्क बितरण गरिरहेको छ। जिल्ला कृषि कार्यालय झापाले स्वर्ण सव एक, साँवा सव एक र सुख्खा तीन जातका धानको बिउ निःशुल्क बितरण गरेको हो । रजित, मन्सुली, शरना, बिजी ११ लगायतका भारतीय धानलाई हटाउन नार्कबाट परीक्षणपछि धेरै फल्ने, मिठो भात हुने यी जातको धानलाई सरकारले सिफारिस गरेको कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए। अहिले जिल्लाभित्र नेपाल बिउ बिजन कम्पनीले ५० टन निःशुल्क मिनी किट् वितरण गरिरहेको कृषि कार्यालयले जनाएको छ ।



किसानलाई निःशुल्क यति धेरै मिनी किट् वितरण गरेको यो पहिलोपटक भएको बाली संरक्षण अधिकृत खरेलले बताए। यसबाट फलेको धान छिटो र राम्रो उत्पादन हुने साथै खान पनि स्वादिलो हुने उनले जानकारी दिए।
माईपश्चिमका गाविस र नगरपालिकाका किसानका लागि २ सय ४० बोरा मिनी किट् बितरण भइरहेको कृषि कार्यालयले जनाएको छ । गौरादह र गौरीगञ्जका किसानलाई ९०/९० बोरा मिनी किट् उपलब्ध गराइरहेको गौरादह कृषि सेवा केन्द्रका प्रमुख जय प्रसाद उप्रेतीले बताए। पर्सीसम्म गौरादह र गौरीगञ्ज लगायतका गाविसका किसानलाई मिनी किट् बितरण गर्ने उप्रेतीले जानकारी दिए।
यसैगरी दमकस्थित कृषि समपर्क केन्द्रबाट ६ क्विन्टल जति मिनी किट् बितरण हुन बाँकी रहेको केन्द्रकी प्रमुख सावित्रा कार्कीले बताइन्। दमक, लखनपुर, तोपगाछी र धरमपुरका कृषकहरुलाई मुल कृषक समुहबाट निःशुल्क मिनी किट् बितरण गरेको कार्कीले बताइन्। यी मिनी किट्हरु लगेर किसानले जेठको चौथो सातासम्म धानको ब्याड् राखिसक्नु पर्ने बताइएको छ।




Comments