पाठपारायणमार्फत शान्तिको कामना



प्रकाश उप्रेती
१७ जेठ, विर्तामोड ।
विनाशकारी भूकम्पमा परी देहावसान भएकाहरूको आत्माको चिरशान्ति तथा राष्ट्र शान्तिको कामना गर्दै झापाको धाइजनमा एकदिने पाठपारायण सम्पन्न भएको छ ।
धाइजन-६ स्थित जनसुधार समाज एवं पुष्पाञ्जली कीर्तन मण्डलीको निर्माणाधीन अवस्थाको एकतले घर प्रवेशको अवसरमा ९ जना पण्डितबाट एकदिने पाठ गरिएको हो । ९ जना पण्डितले रुद्राभिषेक, चण्डिपाठ, वेदपाठ तथा स्वस्थानीको आराधना सम्पन्न गरेका छन् ।



२०६२ सालमा स्थापना गरिएको उक्त संस्थाले एक वर्षयता मण्डलीको घर निर्माण सुरु गरेपनि आर्थिक अभावले अधुरो भएको छ । भवन निर्माण कार्यमा हालसम्म ७ लाख रूपैयाँ खर्च भइसकेको संस्थाका अध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार मण्डलीमा आवद्ध १ सय ६ जना सदस्यबाट संकलित रकम सकिएर अधुरो बनेको हो ।
उक्त भवन निर्माणका लागि थप ५ लाख बढी लाग्ने भएकाले सहयोग जुटाइदिन संस्थाका सचिव राजु प्रसाईंले सबैलाई अनुरोधसमेत गरेका छन् ।



Comments