'दोबाटे'लाई रसिकको प्रोत्साहन




१७ जेठ, पथरी।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले ग्रामिण क्षेत्रबाट सृजनाको पाटोमा सवैभन्दा बढी माया हुने गरेको बताएका छन्।
रसिकले मोरङको पथरीशनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले हिमशिखर टेलिभिजनमार्फत प्रशारण गर्दै आएको हाँस्यव्यङ्ग्य टेलिश्रृंखला 'दोबाटे' अर्धवार्षिक यात्राको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।
जिरिखिम्तीमा आयोजित दोबाटेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै रसिकले सृजनामा जागरुक युवाहरुबाट यसखाले कार्यक्रम उत्पादन हुनु सह्रानीय काम भएको भन्दै प्रसंशा गरे। सृजना क्षेत्रमा अप्ठ्याहरु भएपनि यसमा जीवनको आनन्द भेटिने भएकाले जीवन खोज्ने अभियानले सार्थकता पाओस् भन्दै उनले समूहलाई शुभकामना दिएका छन्।




कार्यक्रममा विशिष्ट लोकगायक एलपी जोशीले पनि समूहको निरन्तर यात्राको शुभकामना दिँदै ८० वर्षको उमेरमा पनि कला क्षेत्रमा आफुले भोगिरहेका समस्याहरु उल्लेख गरे।
कार्यक्रममा प्राज्ञ राम धामी, श्रष्ठा धनकुटे कान्छा, रोहित पराई, घनश्याम पथिकका साथै टेलिश्रृंखलाका सल्लाहकार तुलसीराम ढकाल, देवीप्रसाद रिजाल, रमेश खत्रीका साथै समाजसेवी मोहनकुमार न्यौपाने, व्यवसायी प्रेम पराजुलीले शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा नाट्य समूहका सल्लाहकार तथा दोबाटेका लेखकमध्येका भूपेन्द्र तिम्सिना, निर्देशक हरेन्द्र खत्री, समूहका अध्यक्ष अभय पोखरेल, सचिव एवम् टेलिश्रृंखलाका व्यवस्थापक मात्रिका पौडेल, कलाकार भिष्म न्यौपाने र मनोज न्यौपानेले आफ्ना अनुभव राखेका थिए।









Comments