डिकेश लामा,
२८ बैशाख, बेलडाँगी।
व्यापरिक प्रयोजनका लागि भूटानी शरणार्थीहरुले छाप्राभित्र लुकाई राखिएका मादकजन्य पदार्थ बरामद गरी सोमबार नष्ट गरिएको छ ।
केही दिनअघि शिविर व्यवस्थापन समिति र रेखदेख दलको संयुक्त गस्ती टोलीले छाप्राबाट बरामद गरी जम्मा पारिएको घरेलु तथा शिलप्याक रक्सी, जाँड, वियर नष्ट गरिएको शिविर सचिव सन्चहाङ्ग सुव्बाले बताए । सुव्बाका अनुसार शिविर भित्रका छाप्राहरुमा लुकाएर व्यापार गर्दै गरेको खुल्न आएपछि छापामारी बरामद गरिएको हो । करिव १५ वटा छाप्राबाट ११ बाल्टी घरेलु जाँड, ४१ बोतल वियर, ४३ बोतल शीलप्याक रक्सी, ५५ लिटर घरेलु रक्सी ५ दिनअघि संयुक्त गस्ती टोलीले बरामद गरेको थियो। आज ती मादक पदार्थ सार्वजनिकरुपमा नष्ट गरिएको शिविर रेखदेख दलका संयोजक टी.बी. राईले जानकारी दिए ।
शिविरभित्र मादक पदार्थको प्रयोगका कारण घरेलु हिंसा र झैझगडा बृद्धि हुनाले लामो समयदेखि मादकजन्य पदार्थको रोक लगाइए पनि लुकिछिपी प्रयोग भने रोकिन नसकेको शिविर व्यवस्थापन समितिले जनाएको छ । यो शिविर भित्र बरामद गरेको दोस्रो ठूलो परिमाणको मादक पदार्थ भएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यसअघि सशस्त्र प्रहरी र शिविर व्यवस्थापन समितिले बरामद गरेको यस्ता मादक पदार्थ दर्जनौंपटक नष्ट गरिसकेको भए पनि सो क्षेत्रमा मादक पदार्थको प्रयोग भने कम हुन नसकेको शिविरका अगुवाहरु बताउँछन् ।

Comments
Post a Comment