त्रिफला अब शनिबार पनि खुल्ने




४ जेठ, धुलाबारी।
झापाको धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालय शनिबार पनि खुल्न थालेको छ । पठन संस्कृतिको विकासका लागि शिक्षक, प्राध्यापक, विद्यार्थी, कर्मचारीले शनिबारे विदाका दिन पुस्तकालय भ्रमण गर्ने भएकोले १९औं वर्ष प्रवेशको उपलक्ष्यमा यस्तो निर्णय गरिएको हो ।
जेठ २ गते शनिबारदेखि पुस्तकालय खुल्न थालेको पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले बताए। साप्ताहिक विदा शनिबारको सट्टा मंगलबार दिइनेछ ।
फलाहारीका अनुसार पुस्तकालय सञ्चालन समितिको हालैको निर्णयअनुसार त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, पोखरा र पूर्वाञ्चल गरी नेपालका पाँचैवटा विश्वविद्यालयलाई पुस्तकालयको संस्थागत संरक्षकमा राखिएको छ ।


यसैगरी जिल्ला शिक्षा कार्यालय र मेचीनगर नगरपालिकालाई संस्थागत सल्लाहकार तथा सल्लाहकार संयोकमा हरिचरण बानियाँ र सदस्यहरुमा राम कट्टेल र आचार्य मुक्तिनाथ रिमाललाई मनोनयन गरिएको पनि फलाहारीले जानकारी दिए । पुस्तकालयका ७१५ जना आजीवन सदस्य छन् । तीमध्ये ५२ जना नेपाल बाहिर बस्छन् ।






Comments