दमककै अग्लो मेची सहकारी भवनको दुई तला भत्काइने




८ जेठ, दमक।
झापाको दमककै अग्लो भवनको रूपमा रहेको मेची सहकारी संस्थाको ६ तल्लामध्ये माथिल्ला दुई तला भत्काइने भएको छ ।
५५ फिट अग्लो सहकारीको भवनको माथिल्ला दुई तला भुकम्पीय जोखिम भएको भन्दै भत्काउन लागिएको हो । हालै आएको बिनासकारी भुकम्पपछि सहकारीसँगै जोडिएका छिमेकीले असुरक्षित महशुस गरेका कारण सहकारीले आफ्नो भवनका दुई तला भत्काउने निधो गरेको ब्यवस्थापक खोम थापाले बताए। उनले यस्ता बिनासकारी भुकम्पबाट हुने अकल्पनीय क्षति रोक्न संस्थाले भत्काउने निर्णय गरेको बताए। उनले भने, 'असुरक्षित हुनुभन्दा बेलैमा सुरक्षित उपाय खोज्नु राम्रो ठान्यौं।' संस्थागत रुपमा आफैं निर्णगरेर भवन भत्काउने यो निर्णय जिल्लाकै पहिलो भएको मानिन्छ ।




दमक-११ मा अवस्थित सो सहकारी संस्थाको भवन २०६३ सालमा निर्माण भएको हो । १७ धुर जग्गामा निर्मित ६ तल्ले सो भवनको दुई तल्ला भत्काउँदा संस्थाको ३० लाख रुपैयाँ बढी नोक्सान हुने संस्थाका व्यवस्थापक थापा बताउँछन्।
सात बर्षअघि मेचीको भवनमा युटिएल टेलिफोनको ४५फिट अग्लो आठ मेट्रिक टनको फलामे टावर समेत राखिएको छ । सहकारीले मासिक १३ हजार रूपैयाँ भाडामा त्यहाँ टावर राख्न दिएको हो ।
यसैबीच युटिएलको काठमाण्डौस्थित कार्यालयमा सो टावर भएको सहित माथिल्ला दुईतल्ला हटाउने निर्णय भएको जानकारी गराई सकिएको सहकारीले जनाएको छ । ब्यवस्थापक थापाले युटिएललाई उसको टावर हटाउन बारम्बार भन्दै आएको उल्लेख गरे।
तर युटिएलले सहकारीसँग त्यहाँ टावर राख्न २०६५सालमा गरेको गरेको दशबर्षे सम्झौता २०७५ सालसम्म कायम रहने उल्लेख छ । त्यहि आधारमा युटिएलले बारम्बार जानकारी गराउँदा पनि टावर हटाउन आनाकानी गरेको सहकारीको भनाई छ । सहकारीको सो भवनमा सहकारी, सप्तरंगी एफएम, डेरी, पुस्तक लगायत व्यवासायीक पसलहरु सञ्चालनमा रहेका छन् ।



Comments