हावाहुरीका कारण एक वालिका र एक चिकित्सकसहित चारको मृत्यु




१० जेठ, दमक।
शनिबार साँझ ‍अपरान्ह हावाहुरीको कारण पूर्वमा एक शरणार्थी वालिका र चिकित्सक सहित चार जनाको ज्यान गएको छ।
साँझ ८ बजेतिर आएको हावाहुरीका कारण रुखको हाँगा खसेर किच्दा भुटानी शरणार्थी शिविर बेलडाँगी २ को सेक्टर बि १, छाप्रो नम्बर ९७ की ४ वर्षीया एलिना राईको ज्यान गएको हो।
घरको बरण्डामा बसिरहेको अवस्थामा उनलाई रूखको हाँगाले लाग्दा घाइते भएकी उनको उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमलके जनाएको छ।
हाँगाले लागेर उनकी ३५ बर्षिया आमा मनमाया गम्भीर घाइते भएकी छिन् । उनको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।




त्यस्तै हिजो साँझ नै आएको हावाहुरीका कारण सुनसरीको धरान बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकको समेत ज्यान गएको छ । अस्पतालको परिसरमा रहेको रुख ढलेर किच्दा ३१ बर्षिया डाक्टर रन्जना देवकोटाको ज्यान गएको प्रहरीले जनाएको छ।
त्यसैगरी मोरङको पथरी शनिश्चरेमा हावाहुरीकै कारण एक व्यक्तिको ज्यान गएको छ । पथरी शनिश्चरे १२ का ५५ वर्षिय कमल अधिकारीलाई हावाहुरीले लडाएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हावाहुरी आएको वेला शौचालय जान भनेर हिँडेका उनी मृत अवस्थामा भेटिएका थिए । अचानक आएको हावाहुरीका कारण लड्दा उनको ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीको भनाई छ।


उता हावाहुरीकै कारण उदयपुरमा पनि एक युवतीको मृत्यु भएको छ । शनिबार आएको तिव्र बेगको हुरीका कारण उदयपुरको रौता गाबिस–९ गुराँसेकी २० बर्षीया मुना थामा मगरको मृत्यु भएको हो । हावाहुरीले घरको छाना उढाएपछि घर वाहिर निस्किएकी मगरलाई छिमेकीको घरको जस्तापाताले लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।




Comments