३० बैशाख, दमक।
भुकम्प पीडितका लागि सहयोग जुटाउन झापाको दमक-१० स्थित डाँफे बचत तथा ऋण सहकारीले १ लाख २६ हजार ४ सय रुपैयाँ राहत उपलब्ध गराएको छ ।
संस्थाले संकलन गरेको सो राहत रुपैयाँ आज संस्थाको कार्यालयमा एक कार्यक्रम गरी स्थानीय दमक प्राकृतिक राहत कोषलाई हस्तान्तरण गरेको हो । संकलित राहत रुपैयाँ संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले कोष संयोजक लीला गुरागाईलाई चेक हस्तान्तरण गरेका थिए।
संस्थाले सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरुबाट सो राहत संकलन गरिएको व्यवस्थापक चुडामणि ओझाले बताए।
कोषले संकलित राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने स्थानीय कोष संयोजक गुरागाईले बताए। यसअघि कोषले स्थानीय स्तरमा संकलित २० लाख २२ हजार २ सय २२ रुपैयाँ झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइसकिएको उनले जानकारी दिए।
पछिल्लोपटक यहाँ संकलित राहत चाँडै सोही कोषमार्फत भुकम्प पीडितहरुलाई पठाउन लागिएको कोष संयोजक गुरागाईले बताए। यसैवीच स्थानीय स्तरमा भुकम्प पीडितका लागि कोषले खाद्य तथा लत्ताकपडाहरु समेत संकलन गरी प्रभावित क्षेत्रमा पुर्याउन समेत लागेको उनले बताए।
Comments
Post a Comment