अपाङ्गता भएका २४ जनाको भुकम्पमा परी मृत्यु



४ जेठ, दमक।
हालै गएको महाभुकम्पमा परी मुलुकभर अपाङ्गता भएका २४ जनाको ज्यान गएको छ । तीमध्ये धेरैजसोले आ-आफ्ना घरभित्र पुरिएर ज्यान गुमाएका अपाङ्गताका क्षेत्रमा कार्यरत एक संस्थाले जनाएको छ ।
नेपाल अपाङ्ग महासंघका पूर्व अध्यक्ष बिरेन्द्र कुमार पोखरेलका अनुसार अपाङ्गता भएकामध्ये सबभन्दा बढि सातजनाले मध्यपहाडी जिल्ला रसुवामा ज्यान गुमाएका छन् । यसैगरी सिन्धुपाल्चोकमा ४, धादिङमा ५, गोरखामा ४ दोलखामा २ र भक्तपुरमा २ जना अपाङ्गता भएकाको भुकम्पमा परी ज्यान गएको छ ।


गत बैशाख १२ र २९ गते गएका भुकम्पमा परेर चारसय २५ अपाङ्गहरु घाइते भएका छन् । तीमध्ये धेरैजसोमा बहुअपाङ्गताको अवस्था देखापर्ने स्थिति रहेको छ । घाइते हुने त्यस्ता अपाङ्गता भएकाहरुमा धेरैजसो बौद्धिक वा मानसिक अपाङ्गता भएका छन्, जो कसैको साहराबिना तत्काल सुरक्षित ठाउँमा जान नसक्ने अवस्थाका रहेको महासंघको अनुमान छ ।
भुकम्पमा घाइते भएकामध्ये तीनहजार सबलाङ्ग मानिस पनि अपाङ्ग हुनसक्ने अवस्थामा भएका पोखरेलले जानकारी दिए। उनले भने, 'दुबै भुकम्पमा मुलुकभरिका अपाङ्गता भएका नौहजार मानिसले घरबार गुमाएका छन् ।' उनले सिन्धुपाल्चोक, गोरखा, दोलखा, काभ्रे, भक्तपुर, काठमाण्डौ, ललितपुर, सिन्धुलीलगायत भुकम्पबाट बढता क्षति भएका १४ जिल्लामा केन्द्रीत गरी ती जिल्लाका अपाङ्गता भएकाहरुको बिवरण संकलनको काम भइरहेको पनि बताए।





Comments