३१ बैशाख, दमक।
झापाको मध्यदक्षिणी गाविस बैगुन्धुरामा सशस्त्र प्रहरी बेस क्याम्प भवनको सिलान्यास गरिएको छ । बैगुन्धुरा -६ स्थित कन्काई नहरको पुरानो भवनमा रहेको बेस क्याम्पलाई बैगुन्धुरा- ७ का सिताराम भट्टराईले ११ कठ्ठा जग्गा उपलब्ध गराएपछि उक्त जग्गामा भवनको सिलान्यास गरिएको हो ।
एक औपचारिक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले भवनको सिलान्यास गरेका हुन् । १५ कोठे पक्की भवन ६ महिनाभित्र निर्माण गरी सक्ने लक्ष्य राखिएको भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र निरौलाले जानकारी दिए।
सो वेस क्याम्पलाई बोर्डर आउट पोष्टमा रुपान्तरण गर्नका लागि समेत सम्बन्धित निकायमा फाइल पठाइसकिएको निरौलाले जानकारी दिए। चौपाया चोरीका घटनाबाट पिडित सो क्षेत्रका बासिन्दाले स्थायी रुपमा सशस्त्र प्रहरी बस्नुपर्ने माग गर्दै आएका छन्। शिलान्यास कार्यक्रममा स्थानीय विकास अधिकारी फडिन्द्र दहाल र नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्की, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमल थापा, झापा प्रहरी प्रमुख एसपी रविन्द्रनाथ रेग्मी, सशस्त्र प्रहरी सीमा सुरक्षा बल झापाका एसपी प्रेम पोख्रेल, सशस्त्र प्रहरी पाथीभरा गणका एसपी भरतबाबु केसी लगायतको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment