मोवाइल चार्ज गर्न अर्को गाउँ




डिकेश लामा,
१२ जेठ, बेलडाँगी।
हावाहुरीका कारण विजुलीका पोलहरु ढलेपछि विद्युत आपूर्ति हुन नसकेका दमकका विभिन्न क्षेत्रका नागरिकहरु सास्ती वेहोर्न वाध्य भएका छन् । दमक नगर क्षेत्रका केही स्थानहरुमा हालसम्म विद्युत आपूर्ति हुन नसकेपछि सो क्षेत्रका नागरिकहरु मोवाइल चार्ज गर्नसमेत अर्को गाउँ वा टोलमा जानु पर्ने वाध्यतामा छन् ।
दमक वडा नं. ५ उत्तरी क्षेत्र २ वटा पोल भाँचिएपछि सो क्षेत्रमा हालसम्म विद्युत आपूर्ति सकेको छैन । यता दमक वडा नं. ३ को भालुखँडी, दमक ७ को गोलाटार र दमक १७ का साथै दमक वडा नं. ५ हुँदै जाने इलामको चुलीचुली ९ मासमेत हालसम्म विद्युत आपूर्ति हुन नसकेको र मर्मत भइरहेको विद्युत प्राधिकरण दमक शाखाले जानकारी दिएको छ । विद्युत आपूर्ति बन्द भएपछि सो क्षेत्रका नागरिकहरु मोवाइल चार्ज समेत गर्नबाट बन्चित बनेको दमक वडा नं ५ शान्ति टोलका सचिव राजकुमार श्रेष्ठले बताए ।
विग्रिएको लाइन चाँडो मर्मत गरी सहज रूपमा विद्युत सेवा उपलव्ध गराउन गर्न पीडित क्षेत्रका नागरिकहरुले नेपाल विद्युत प्राधिकरण दमक शाखासँग आग्रह गरेका छन् ।


Comments