'संस्थागत विदयालयमा खासै क्षति छैन'



४ जेठ, दमक।
गत बैशाख १२ र २९ गतेको भुकम्पका कारण झापाका संस्थागत विद्यालयहरुको त्यति क्षति नपुगेको विद्यालय सञ्चालकहरुले बताएका छन् । दमकको झापापोष्ट दैनिकले आज गरेको अन्तर्क्रियामा संस्थागत विद्यालयका संचालकहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा संस्थागत विद्यालय संगठन प्याब्सन झापा जिल्ला उपाध्यक्ष श्रवण पोखरेलले हिजोदेखि झापाका संस्थागत विद्यालयहरुमा भुकम्पले पुर्‍याएको भौतिक क्षतिको अनुगमन गरिरहेको र उक्त अनुगमनका क्रमामा कुनै कुनै विद्यालयको सामान्य क्षति बाहेक ठुलो क्षति भएको नपाइएको उनले बताए। सामान्य क्षति भएका विद्यालयहरुमा पनि प्राबिधिकको सल्लाह बमोजिम मर्मत थालिएकोले अभिभावकहरुलाई नआत्तिन उनले आग्रह गरे।




अन्तरक्रिया कार्यक्रममा प्याब्सन झापा क्षेत्र नं. ७ का क्षेत्रीय संयोजक सुजन राईले विद्यालय बन्द गर्दा विद्यार्थीहरुमा भुकम्पको कारण परेको मनोवैज्ञानिक त्रास हट्नेभन्दा पनि बढेको बताए। त्यसकारण कारण आगामी बुधबारदेखि विद्यालयहरु सुचारु गर्ने र पहिला पठन पाठनभन्दा पनि भुकम्पका कारण विद्यार्थीहरुमा परेको असरलाई कम गर्ने खालका गतिविधिहरु सञ्चालन गर्ने उनले बताए।
प्याब्सनका पूर्वाञ्चल क्षेत्रीय सल्लाहकार एल.डी. राईले भुकम्प भन्दापनि त्यस पछिका अनावश्यक हल्लाहरुका कारण विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास बढेको बताए। उनले विद्यालय बन्द गर्नेभन्दा पनि विद्यालय सुचारु गरेर विद्यार्थीहरुलाई भुकम्पको मनोवैज्ञानिक त्रासबाट मुक्त गर्न सकिने भएकोले राज्यले चाँडोभन्दा चाँडो भौतिक क्षति नभएका विद्यालयहरु सञ्चालनको अनुमति दिनुपर्ने बताए।
अन्तरक्रिया कार्यक्रममा ग्लोबल स्कुलका प्रिन्सिपल दिनेश न्यौपाने, झापा मोडलका प्रिन्सिपल सागर श्रेष्ठ, रोजियट स्कुलका प्रिन्सिपल रुद्र प्रसाद दहाल, सदा शिक्षा निकेतनका प्रिन्सिपल सागर दहाल, सनराइज स्कुलका प्रिन्सिपल जनार्दन कुमार मैनाली, एलाइड स्कुलका प्रिन्सिपल पारसमणि नेपाल लगायतले आ-आफ्नो विचार राखेका थिए।
झापा पोष्ट दैनिकका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सम्पादक रेगिना भट्टराईले गरेकी थिइन्।






Comments