उपचारमा सहयोग गरी पुनर्जन्म दिन कुमारीको आग्रह




सरोज बस्नेत
७ जेष्ठ, उर्लाबारी।
आफ्नो टाउको, गाला र घाँटीमा फैलिएको ट्यूमरको अपरेशन गर्न रकम अभावका कारण नसकेपछि पाँचथरको मौवा गाविस- ५ की २६ वर्षिया कुमारी निरौलाले सहयोगको याचना गरेकी छिन् ।
हाल मोरङको मधुमल्ला- ४ स्थित मामाघरमा आश्रय लिई बसेकी निरौलाको आर्थिक अवस्था ज्यादै नाजुक भएका कारण अपरेशनको लागि सहयोगको याचना गरेकी हुन् ।
'सानैमा सानो कालो दाग थियो, अहिले बढेर यत्रो भइसक्यो', उनले भावुक हुँदै भनिन्, 'अपरेशन गर्ने पैसा छैन ।’ परिवारको आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण अपरेशन गर्न नसक्दा १४ वर्षको उमेरदेखि टाउको, गाला र घाँटीमा ट्यूमर फैलिएको उनले बताइन् । 'डाक्टरले एकपटक अपरेशन गर्दा तीन लाख रूपैयाँ लाग्ने र तीन पटकसम्म अपरेशन गरेपछि प्लास्टिक सर्जरी गर्नुपर्ने सुभाव दिनुभएको छ', पीडित निरौलाले गहभरी आँशु पार्दै भनिन्, 'सबैले सहयोग गर्नुभयो भने मैले पुनर्जन्म पाउन सक्छु ।’ उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेकी छिन् ।



ऋण काढेर धुलिखेल, बनेपा, टिचिङ र ग्लोबल हस्पिटलमा उपचारको लागि देखाइसकेको पीडितकी मामा जंगबहादुर खत्रीले बताए। टिचिङ हस्पिटलका डा. इश्वर लोहनीले पैसा भए उपचार गर्नसक्ने तीनपटक अप्रेशन गर्दा नौ लाख लाग्ने बताएको उनले जानकारी दिए। 'भान्जीको उमेरसँगै ट्यूमर बढेपछि चिन्ता बढेको छ, अपरेशनको लागि लाग्ने यत्रो रकम आफुहरुसँग नभएका कारण सहयोगको अपिल गरेका हौं', उनले भने, 'तपाईहरुको सानो सहयोगले कसैले पुनर्जन्म पाउने भएकाले सकेको सहयोग गर्न आग्रह गर्दछु ।’
सहयोगी दाताहरुले पीडित कुमारी निरौलाको नाममा हिमालय बैंकमा रहेको ०४३०५५८१२२००१४ नम्बर खातामा रकम जम्मा गर्न सकिने बताइएको छ । हालसम्म कतैबाट सहयोग नपाएको पीडित परिवारले जनाएको छ ।


Comments