दार्जीलिङलाई फराकिलो गोल अन्तरले हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा



२८ वैशाख, उर्लाबारी।
मोरङको उर्लाबारीमा सञ्चालित मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको आजको खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं फराकिलो अन्तरले विजयी भई सेमीफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो दिनको सो खेलमा चर्चले पाहुना टिम भारतको दार्जीलिङस्थित कञ्चनजंघा फुटबल क्लबलाई ५-० ले हराएर आफुलाई सेमी फाइनलमा उतार्न सफल भएको हो ।
चर्चका तर्फबाट खेलको पूर्वार्द्धको १२ औं मिनटमा सुमन लामाले गोलपोष्ट नजिकै पाएको बललाई गोलमा परिणत गरे। त्यसपछि कञ्चनजंघाले दवाव बढाएपनि गोल फर्काउन सकेन । सोही अवस्थामा २७ औं मिनटमा पुन चर्चका जाङ्वो शेर्पाले निकै टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि कञ्चनजंघाको उत्साह सेलाएझैं हुन पुग्यो ।





उत्तर्रार्द्धको १६ औं मिनटमा पाल्साङ लामाले अर्को गोल थपे । २३ औं मिनटमा जसबहादुर राईले किपर झुक्किएको अवस्थाको फाइदा उठाएर अर्को गोल थप्न पुगे । ३९ औं मिनटमा सुमन लामा र ३९ औं मिनटमा पुनः सुमनले गोल गर्न सफल हुँदा चर्चले ५-० गोलले विजय हाँसिल गर्न सफल भयो ।
चर्चका सुमन लामा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन् ।
आजको प्रतियोगितामा नेकपा एमालेका नेता प्रदिप नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।
भोलिको खेल आयोजक र एपीएफ पाथीभरा गण झापाबीच हुनेछ।



Comments