भुकम्प पीडितको सहयोगार्थ बहराइनमा नेपाली सांगीतिक साँझ हुँदै



रामकुमार परियार
३० मे, युएई ।
गत वैशाख १२ गतेको महाभुकम्पबाट मातृभूमि स्तब्ध भएको बेला बहराइनका प्रवासी नेपालीहरुको एउटा समूह सांगीतिक कार्यक्रम मार्फत पीडितको आहतमा मलहम लगाउन लागिपरेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत नेपाली युवाहरुको एउटा समुहले महाभुकम्प प्रभावितहरुका निम्ति राहत संकलन गर्न आगामी जुन १२ तारिख "नेपाली सांगीतिक साँझ-२०७२" आयोजना गर्ने भएको हो ।
बहराइनको राजधानी मनामास्थित डेल्मन इन्टरनेशनल होटलमा आयोजना गरिने उक्त विशेष सांगीतिक कार्यक्रममा नेपालका नाम चलेका राष्ट्रिय कलाकारहरु संगीतकार महेश खड्का, गायकहरु प्रमोद खरेल, रामजी खाँण र हट गायिका ज्योती मगरलगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक मध्येका एक अर्जुन दुलालले बताए ।



कार्यक्रमलाई भव्य र सफल बनाउन आयोजक समुह निक्कै सक्रियतापूर्वक तयारीमा जुटेको समेत दुलालले बताए । आगामी जुन १२ तारिख साँझ ६ बजेबाट संचालन हुने कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति ५ बहराईन डलर बराबर टिकटको व्यवस्था गरिएको र उक्त टिकट बिक्रीबाट संकलित रकम भुकम्प पीडितलाई राहत स्वरुप प्रदान गरिने समेत उनले जानकारी दिए ।
विनाशकारी दैवीप्रकोपबाट आफन्त गुमाएका र घरबार विहिन भएकाहरुको दु:खमा सहयोग गर्नु सम्पुर्ण देशभक्त नेपालीको कर्तव्य र उत्तरदायित्व भएको आयोजकले जनाएको छ । साथै सम्पूर्ण बहराइनवासी नेपालीहरुलाई यो कार्यक्रममा सहभागी भई मनोरञ्जनका साथै नेपाल र नेपालीको आँसु पुछ्ने मानवीय कार्यमा सहभागी भई दिन आग्रह समेत गरेको छ ।
(बहराइनबाट जानू कार्कीको सहयोगमा)




Comments