३० बैशाख, काँकडभिट्टा।
बंगलादेशका लागि नेपाली राजदुत हरिकुमार श्रेष्ठले बंगलादेशमा जुटेको राहत सामाग्री नेपालसम्म ल्याउन अग्रसरता देखाउन निजी क्षेत्रलाई आव्हान गरेका छन् ।
बुधबार पूर्वी नाका झापाको काँकडभिट्टामा सीमा अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको अन्तरकृयामा उनले त्यस्तो आव्हान गरेका हुन् । बंगलादेश सरकारले नेपालका भुकम्प पीडितलाई सहयोग स्वरुप पठाइरहेको दशहजार मेट्रिक टन चामल भने बंगालादेश सरकारले नै झापाको बिर्तामोडसम्म ढुवानीको प्रबन्ध गरिरहेको छ । बुधबार साँझसम्म झापामा आठ हजार ४२ मेट्रिक टन उसिना चामल आइसकेको छ । सो चामल खाद्य संस्थानको बिर्तामोड स्थितगोदाममा अनलोड गरी भुकम्प पीडित क्षेत्रमा पठाउने गरिएको छ ।
तर बंगलादेशमा संकलित ब्यक्तिगत र सामाजिक संघसंस्थाको सहयोग भने ढाकास्थित नेपाली दुतावासमा थुप्रिएको छ । राजदुत श्रेष्ठले ढाकास्थित नेपाली दुतावास हिजोआज सुक्खा बन्दरगाहसरह भएको बताए । उनले भने, 'दुतावासको आफ्नो कार्यकक्षभन्दा बाहेकको सबैजसो ठाउँ सहायता सामग्रीले खचाखच भरिएको छ ।'
त्यहाँ संकलित सामग्रीमा नानीहरुका ब्ल्याङ्केट, महिला र बालबालिकाका कपडा, प्याक गरिएका खान्की, त्रिपाल, प्लास्टिक म्याट्रेस र कतिपय औषधी समेत गरी करिब ५० ट्रक सामग्री रहेको उनले बताए । बंगलादेशका बैंक, प्रकृति बचाउ सम्बन्धीका सामाजिक संघसंस्थाहरु र सर्वसाधारणहरु नेपालका भुकम्प पीडितका लागि सहायता संकलनमा जुटेको र उनीहरुमध्ये धेरैजसो दिनहुँ ढाकाको नेपाली दुतावासको सम्पर्क र समन्वयमा रहेको बताइएको छ ।
राजदुत श्रेष्ठले झापा जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी रोहित पोखरेल, मेची भन्सार प्रमुख मुक्तिप्रसाद पाण्डे, मेची उद्योग बणिज्य संघका अध्यक्ष बिजय डालमिया लगायतसँग झापामा संकलित राहत सामग्री र भुकम्प पीडित क्षेत्रसम्म ती सामग्रीको ढुवानीको अबस्थाबारे जानकारी लिएका थिए ।

Comments
Post a Comment