सवारी दुर्घटनामा तीन जनाको मृत्यु



३० बैशाख, दमक।
कोशी राजमार्गअन्तर्गत सुनसरीको सोनापुर २ मा मंगलबार साँझ एक बसको ठक्करबाट एकजना साइकलयात्रीको ज्यान गएको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख २५८७ नम्बरको बसले साँझ ५ बजे सोही दिशातर्फ जादै गरेको साइकलयात्री सुनसरी सोनापुर १ का ६२ बर्षीय मान बहादुर अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।



यस्तै कोशी राजमार्गकै सुनसरीको दुहवी ९ मा मंगलबार दुई ट्रक र एक बस एकआपसमा ठोक्किँदा एक ट्रकका चालकको मृत्यु भएको छ।
को १ ख २११२ नम्बरको दुध बोकेको ट्रक, ना ३ ख १९२४ नम्बरको अर्को ट्रक र बा १ ख ७३८५ नम्बरको बस एकआपसमा ठोक्किंदा दुध बोकेको ट्रकका चालक मोरङ्ग विराटनगर ५ बस्ने बर्ष ३५ को विशु राजवंशीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारकालागी लैजानेक्रममा बाटोमै मृत्यु भएको थियो। बिराटनगरबाट दुध बोकेर इटहरीतर्फ जादै गरेको ट्रकले बसलाई ओभरटेक गर्नेक्रममा बिहान ११ बजे तीनैवटा सवारी साधन एकआपसमा ठोक्किएका थिए।
उता उदयपुरको रामपुरठोक्सिलामा मंगलबार ट्याक्टरले ठक्कर दिएर स्थानीय एक बालकको उपचारकाक्रममा मृत्यु भएको हो।
को १ त ९८७५ नम्बरको ट्रयाक्टरको ठक्करबाट घाइते भएका रामपुरठोक्सिला २ बस्ने ११ वर्षिय सोडा थापाको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा राति १० बजे मृत्यु भएको हो।
घर नजिकै खेल्दै गरेका उनलाइ साँझ ६ बजे ट्याक्टरले ठक्कर दिएको थियो।
ठक्कर दिने ट्रयाक्टरलाई नियन्त्रणमा लिएको र चालक फरार रहेकाले खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।


Comments