युनियनले पत्रकारिता तालिम सञ्चालन गर्ने




४ जेठ, दमक ।
नेपाल प्रेस युनियन झापाले आफ्नो २५औं स्थापना दिवसको अवसरमा जेठ १३ गते बुधबार बिर्तामोडमा पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ ।
युनियनका अध्यक्ष कृष्ण हुमागाईंको सभापतित्वमा सोमबार बिर्तामोडमा बसेको बैठकले उक्त दिन रेडियो, अनलाइन र छापा पत्रकारितामा क्रियाशिल पत्रकारहरुका लागि तालिम प्रदान गर्न लागेको तालिम संयोजक उमाकान्त खनालले जानकारी दिए ।
बिर्तामोडस्थित सिके प्रतिष्ठान भवनको सभाहलमा आयोजना हुने उक्त पत्रकारिता तालिममा क्रियाशिल ४० पत्रकारहरुको सहभागिता रहने बताइएको छ ।
तालिममा सहभागी हुन इच्छुक पत्रकारहरुले युनियनका अध्यक्ष हुमागाईं, तालिम संयोजक खनाल र कावा सचिव गिरीराज भट्टराईसँग सम्पर्क गरेर नाम दर्ता गराउन पनि युनियनले क्रियाशिल पत्रकारहरुलाई आग्रह गरेको छ ।


त्यसैगरी स्थापना दिवसको पूर्व सन्ध्यामा जेठ १२ गते साँझ साढे ६ बजे बिर्तामोडको मुक्ति चोक र दमक चोकमा नेपाल प्रेस युनियनले भूकम्पमा परी दिवंगत हुनेहरुको आत्माको चीरशान्तिको कामना सहित मैनबत्ती प्रज्वलन गर्ने पनि उक्त बैठकले निर्णय गरेको छ ।
त्यसैगरी भूकम्पले क्षति पुर्‍याएका सञ्चारमाध्यमहरुको सञ्चालन सुचारु गर्न र भूकम्प पीडित सञ्चारकर्मीहरुलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग प्रेस युनियनको बैठकले माग गरेको छ ।
बैठकले भूकम्पमा परी दिवंगत भएका पत्रकार सुमन बमजनप्रति श्रद्धाञ्जली अर्पण गर्दै भूकम्पमा ज्यान गुमाउने सबैको चिरशान्तिको कामना र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
उक्त बैठकमा प्रेस युनियनका सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल र भीम नेम्वाङको उपस्थिति रहेको थियो ।



Comments