निजी विद्यालयका भवनको अनुगमन शुरु



३ जेठ, बिर्तामोड।
लगातारको भूकम्प र त्रासका कारण झापामा तीन दिन पठनपाठन बन्द गरी निजी विद्यालयका भवनको अनुगमन शुरु गरिएको छ ।
प्याब्सन, एनप्याब्सन, संस्थागत विद्यालय अभिभावक संघ, इञ्जिनियरिङ एशोसिएसन, नेपाल पत्रकार महासंघ झापासहितको संयुक्त अनुगमन समितिले झापाका निजी विद्यालयहरुको अवस्था बारे आज आइतवारबाट अनुगमन शुरु गरेको हो ।
आज आइतवार विहान बसेको सरोकारवालाहरुबीचको संयुक्त बैठकले प्याब्सनका पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द लम्सालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा नारायणप्रसाद घिमिरे, धर्मराज माझी, मोहन शिवाकोटी, मिलनकुमार ढुंगाना, सञ्जीव राई, इञ्जिनियरिङ एशोसिएन कोषराज प्याकुरेल, एलपी उप्रेती, सञ्जीवकुमार प्रधान, गौरीमान फागो, होमराज खतिवडा, पेम्वा लामा, एकराज गिरी, श्रवण पोखरेल र कमलेश्वर राजवंशी रहेका छन् । समितिले तीन दिन झापाका निजी विद्यालयहरुको स्थलगत निरीक्षण गरी पठनपाठन गर्न सक्ने/नसक्ने अवस्थाको प्रतिवेदन तयार गरी शिक्षा कार्यालयमा बुझाउने प्याब्सन झापाका अध्यक्ष मिलनकुमार ढुंगानाले बताए ।



त्यस्तै जेठ ५ गते पुनः बैठक बसी पठनपाठनको सुचारु गर्न सक्ने या नसक्ने अवस्था बारे निर्णय लिने बताइएको छ ।
आज आइतवार टोलीले बिर्तामोडको बाल्मीकि एजुकेशन फाउण्डेशन, विराटज्योति, कञ्चनजंघा, गरामनीको लालीगुराँस र सेन्टजेभियर्स, चन्द्रगढी भद्रपुरको विभूति विद्या मन्दिर, सिद्धार्थ शिशु सदन, मोडर्न इङ्लिस स्कूल र एमरेल्ड एकाडेमीको निरीक्षण गर्‍यो । अनुगमनका क्रममा विद्यालयमा छिटपुट क्षति देखिएपनि सेन्ट जेभियर्सको एउटा भवन तथा मोडर्न इङ्लिस स्कूल र सिद्धार्थ शिशु सदनको भवन जोखिमपूर्ण देखिएको प्याब्सन झापाले जनाएको छ ।
सेन्टजेभियर्सको एउटा भवनको वाल तथा विम चर्किएको छ भने सिद्धार्थ शिशु सदन पुरानो गोदाममा रहेको र तीनवटा कक्षाका एउटै ढोका रहेको तथा मोढर्न इङ्लिस स्कूलको भवन पनि जीर्ण रहेको पाइएको बताइएको छ ।समितिले जोखिमपूर्ण भवनमा पठनपाठन नगर्न सुझाव दिएको छ । समितिले सोमवार र मंगलवार पनि अनुगमनलाई निरन्तरता दिने बताइएको छ ।



Comments