एकभन्दा बढि अञ्चलको रुट पर्मिट दिन हलुका सवारी चालकको आग्रह




१४ जेठ, दमक।
यातायात कार्यालयले एक अञ्चलको मात्रै रुट पर्मिट दिनाले आफुहरु मार्कामा परेको दमकका हलुका सवारी चालक व्यवसायीहरुले गुनासो गरेका छन् । दमकबाट प्रकाशित हुने झापा पोष्ट दैनिकले आज गरेको अन्तर्कृया कार्यक्रममा व्यवसायीहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघ जिल्ला सचिव गान्धीप्रसाद भण्डारीले यातायात व्यवस्था कार्यालयले कालो नम्बर प्लेट भएको हलुका सवारी साधनलाई एक अञ्चलको मात्र रुट परमिट दिने भएकोले आफुहरु मार्कामा परेको बताए। अझ दमकबाट त ५ किलोमिटर पश्चिम जाँदै अर्को अञ्चल आउने भएकोले यहाँका व्यवासायी मारमा परेको उनको गुनासो थियो । त्यसैगरी उनले दमकका ट्याक्सीका लागि व्यवस्थित पार्किङ नहुनाले समेत आफुहरुलाई समस्या हुनेगरेको बताए।




नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिका सह-अध्यक्ष टंक प्रसाईंले यातायात व्यवस्था कार्यालयले लिने अञ्चल परमिट वापतको शुल्क लिन कार्यालय जाँदा पनि ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेकोले आफुहरु हैरानीमा पर्ने गरेको गुनासो गरे। नगर सचिव गणेश गौतमले यातायात व्यवस्था कार्यालयले कालो नम्बर प्लेट भएका हलुका सवारी साधनलाई पनि दुई वा सोभन्दा बढि अञ्चलको रुट परमिट दिए आफुहरु कालो प्लेट भएकै सवारी साधन चलाउन तयार रहेको बताए।
त्यसैगरी नगर सदस्य हरि पाण्डे (भवानी) ले यातायतत मजदुरदेखि बाहेक अन्य साहुहरुले पनि आफ्ना सवारी साधन भाडाको लागि ल्याएर राखिदिनाले आफुहरु मर्कामा परेको बताए।
झापा पोष्ट दैनिकले आफ्नो कार्यालयमा आज दमकमा रहेका हलुका सवारी चालकहरुसँग अन्तर्कृया गरेको थियो ।



Comments