गाविसको काम खुल्ला चौरबाट



८ जेठ, दमक।
झापाको जुरोपानी गाविसको दैनिक कामकाज कार्यालय वाहिर खुल्ला चउरबाट गर्न थालिएको छ । हालै भुकम्पले कार्यालय भवनमा क्षति पुर्‍याएपछि गाविसको काम चउरबाट शुरु गरिएको हो ।
२०३६ सालमा बनेको भवनको पर्खाल भत्किएपछि कार्यालयको काम खुला चउरबाट सञ्चालन गरिएको जनाइएको छ । गाविसभित्र बसेर कार्य सम्पादन गर्ने अवस्था नभएपछि गाविसले आफ्नो सेवालाई अस्थायी रुपमा भवन बाहिरबाट गर्न थालेको जनाएको छ । २०६८ देखि निर्माणाधीन गाविसको नयाँ भवन अलपत्र अवस्थामा रहेको र पुरानो भवनसमेत भत्किएकाले दैनिक कामकाज प्रभावित भएको जुरोपानी गाविसका प्राविधिक सहायक रामप्रसाद दाहालले बताए । भवन भत्किँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।




त्यसैगरी झापाकै महाभारा-५ मा पर्ने इन्द्रेणी प्राविको समेत कक्षाकोठा र प्रशासनिक भवन चर्किँदा जोखिम बढेको छ । प्रधानाध्यापक शिवकुमार मैनालीले भवन चर्किएकाले ढुक्कसँग पठनपाठन गराउन समस्या भएको बताए।
यसैगरी भूकम्पका कारण महारानीझोडा र गौरादह गाविसका भवनहरू पनि चर्किएका छन् । महारानीझोडा गाविसको भवन पनि अति जीर्ण भएको छ ।

फोटो - निर्माणाधीन जुरोपानी गाविस भवन


Comments