भूकम्पको कारण देखाउँदै डोजर चलाइएन



३० बैशाख, उर्लाबारी ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका क्षेत्रभित्रै ८२ फिट अतिक्रमण हटाएर सडक फराकिलो बनाउने अभियान आज भूकम्पको कारण स्थगित भएको छ ।
मंगलबारको भूकम्पले त्रास सिर्जना भएको र भौतिक संरचना हटाउन डोजरका चालक मानसिक रुपमा तयार नभएकाले भोलि बिहीबारदेखि ८२ फिटभित्रै पर्ने भौतिक संरचना हटाउन सुरु हुने उर्लाबारी नगरपालिका अधिकृत सुवाष श्रेष्ठले बताए। उनले भने, 'विहीबारदेखि भौतिक संरचना हटाउने अभियान सुरु हुन्छ ।’


सडक डिभिजन कार्यालय विराटनगरको प्राविधिक सहयोगमा उर्लाबारी नगरपालिका, नगर विकास समिति उर्लाबारी र भौतिक पूर्वाधार निर्माण समिति उर्लाबारीले सडकभित्र रहेका भौतिक संरचनाहरु हटाएर उर्लाबारीलाई नमूना नगरपालिका बनाउने अभियान प्रभावकारी रुपमा अघि बढाउने जनाएको छ । नमूना नगरपालिका बनाउने योजना अनुरुप २०७१ मंसिर १७ गते राजमार्गको दायाँबायाँ ८२ फिट खाली गराउन पहिलो पटक सार्वजनिक सूचना जारी गरेको थियो । पहिलो पटक प्रकाशित सूचनाको म्याद पुस २१ गते सकिएलगत्तै १५ दिने म्याद थपसम्बन्धी सूचना प्रकाशित गरिएको थियो । त्यसपछि प्रभावकारी रुपमा सडक अतिक्रमण हटाउने अभियान सुस्ताएको थियो ।


Comments