जनश्रमदानबाट बाटो निर्माण




३० बैशाख, दमक।
झापाको शिवसताक्षी नगरपालिका- १ बाङ्गे चोकस्थित कुसियारबारी बासिन्दाहरुले आफ्नै लगानीमा झण्डै १ किलोमिटर बाटो निर्माण गरेका छन् ।
शिवगञ्ज बजारबाट ७०० मिटर पश्चिम दक्षिण पर्ने कुसियारमा अधिकांश आदिवासी समुदायका मानिसहरुले आफ्नै जनश्रमदानबाट बाटो बनाएका हुन् । त्यहाँका गाउँहरुले स्थानीय गौरी प्राविका शिक्षक नारायण दाहालको अगुवाईमा ४० हजार रूपैयाँ नगद संकलन र ६० हजार रुपैयाँ बराबर श्रमदान गरी १ लाख रुपैयाँ बराबरको विना सरकारी अनुदान एवम् सहयोग २० फुट चौडा १ किलोमिटर बाटो निर्माण सम्पन्न गरेका हुन् ।



स्थानीय गाउँहरुले निर्माण गरेको सो बाटोले प्रत्यक्ष रुपमा १ सय बढी घर परिवारलाई आवागमनमा फाइदा पुग्ने स्थानीय अगुवा दाहाल बताउँछन् ।
सो बस्ती हुँदै पाँचगाछी-९ आमवाडी (जनता) पुग्न छोटो दुरीको सहज बाटो भए पनि गोरेटो बाटोमा सिमीत रहेकाले सो बाटो बनाइएको स्थानीय गाउँलेहरुले बताएका छन् ।
त्यहाँका स्थानीयबासीहरुको भनाईअनुसार पटक-पटक तत्कालिन स्थानीय निकाय शिवगञ्ज गाविससँग बाटो निर्माण तथा ग्राभेलका लागि माग गरेपनि सुनुवाई नभएकाले आफ्नै अगुवाईमा बाटो बनाइएको हो। यस आर्थिक वर्षमा शिवगञ्ज र सतासीधाम गाभेर सरकारले नगरपालिका घोषणा गरेपछि त्यहाँका स्थानीयबासीहरु हर्षित हुँदै अब भने हाम्रो बाटो बन्ने भयो भन्ने लागेको भएपनि बजेट काटिएपछि ती क्षेत्रका बासिन्दाहरु निराश बन्दै आएका थिए ।
नगरपालिकाले बाङ्गे चोकबाट दक्षिण कुसियारबारी जाने बाटो निर्माण तथा ग्राभेलका लागि भनेर २ लाख १५ हजार रुपैयाँ विनियोजन गरेपनि काम गर्ने बेलामा त्यहाँ गठित उपभोक्ता समितिले अर्कै बाटोतिर मोडेर काम गरेको भनी स्थानीयबासीहरु आक्रोशीत भएका थिए ।



Comments