भूकम्प पीडितलाई राहत संकलन र हस्तान्तरण



१६ बैशाख, दमक, इटहरी।
महाभूकम्पबाट पिडीतहरुका लागि पूर्वका विभिन्न संघसंस्थाहरुले राहत संकलन अभियानलाई तीव्र पारेका छन् ।
यसैक्रममा आज झापाको दमक-१३ स्थित स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले जिल्ला सहकारी संघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार समितिको कोषमा जम्मा हुने गरी १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ पठाएको छ । सहकारीको कार्यालयमा एक कार्यक्रम गरी सो राहत संघका जिल्ला अध्यक्ष हरिचरण बानियालाई हस्तान्तरण गरिएको हो। संस्थाका अध्यक्ष रवि न्यौपानेले सो राहतको चेक हस्तान्तरण गरेका थिए ।
संस्थाका कर्मचारीबाट २२ हजार रूपैयाँ र सञ्चालक समिति तथा शेयर सदस्यहरुले अन्य रकम संकलन गरेर राहत हस्तान्तरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । त्यस अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष बानियाले जिल्ला भरिका सवै सातवटा क्षेत्रीय संघबाट स्वेच्छिक राहत जुटाउने कार्य भईरहेको बताए ।



यसअघि दमक-११ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले समेत स्थानीय दैवी प्रकोप उद्दार समिति मार्फ प्रधानमन्त्री दैवी प्रकोप उद्दार समितिको कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत पठाएको संस्थाका अध्यक्ष टिकाराज सापकोटाले बताए ।
यसैगरी महाभूकम्पबाट पिडीतहरुका लागि राहत जुटाउन लखनपुरमा गाविस, नेपाल रेडक्रस सोसाइटी उपशाखाले संकलन शुरु गरेका छन् । गएको शनिबार आएको महाभूकम्पबाट पिडीतहरुको उपचार तथा परिवारलाई राहत उपलब्ध गराउन लखनपुरमा दैवी प्रकोप राहत संकलन समिति गठन गरी काम थालिएको हो । स्थानीय स्तरमा भूकम्प पिडीतका लागि संकलन गरिने राहत एकद्वार रुपमा गर्न रेडक्रस उपशाखा सभापति चन्द्र शाहको संयोजकत्वमा गठित समितिले काम थालेको जनाइएको छ ।
गाविसले एक विज्ञप्ती निकालेर राहतका लागि दमकस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३३८८ मा समेत जम्मा गर्न सकिने सचिव शाक्यले जनाएका छन् ।
यसैगरी दमक उद्योग वाणिज्य संघले समेत राहत कार्यलाई प्रभावकारी बनाउन पाँच सदस्यीय एक समन्वय समिति गठन गरेको छ । संघको मंगलबार बसेको बैठकले संघका अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा समिति गठन गरेको हो । गठित समन्वय समितिको सदस्यहरुमा संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठ, द्वितीय उपाध्यक्ष गोपाल गुरागाई, घनश्याम खनाल र रेखा भट्टराई रहेका छन् । सो समितिले संघअन्तर्गत गठित बस्तुगत समितिसँग राहतका लागि छलफल गर्ने अध्यक्ष प्रसाईंले जानकारी दिए ।


उता देश महाभूकम्पको चपेटामा परेपछि पिडितहरुलाई सहयोग गर्ने उद्देश्यले मोरङ र सुनसरीमा बिभिन्न संघ संस्थाहरुले समेत राहत संकलन शुरु गर्न थालेका छन् ।
नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटी मोरङ्गले मंगलबारदेखि भूकम्प पीडितहरुको लागि राहत संकलन शुरु गरेको छ । मोरङ क्षेत्र नम्बर २ का सभाषद चण्डी प्रसाद राईको नेतृत्वमा राहत संकलन गर्न निस्किएको टोलीले २ लाख ४० हजार ५ सय रुपैयाँ संकलन गरेको छ । मोरङको पथरी बजारमा दिउँसो संकलन गरिएको सो रकम नेकपा एमालेले स्थापना गरेको भूकम्प राहत कोषमा जम्मा गर्ने सभाषद् चण्डी प्रसाद राईले जानकारी दिए । यता सुनसरीको इटहरीमा पनि जेसिज लगायतका संघसंस्थाहरुको अगुवाईमा राहत संकलन शुरु भएको छ ।
यसैगरी इटहरीमा रहेको गोरखा डिपार्टमेण्ट स्टोरका सञ्चालक बलराम आचार्यले समेत १ सय कार्टुन गोरखा जल पिडितका लागि पठाएको जानकारी प्राप्त भएको छ ।

तस्वीर - स्वर्णलक्ष्मी सहकारीद्वारा भूकम्प पीडितलाई राहत हस्तान्तरण गरिँदै । (विष्णु सुब्बा)






Comments