दमकमा राहत संकलन शुरू




१३ बैशाख, दमक।
हिजो मुलुकमा गएको विनाशकारी महाभूकम्पमा परी घाइते तथा मृत्यु भएका परिवारलाई सहयोग गर्न यहाँका संघसंस्थाहरु जुटेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा र दमक उद्योग वाणिज्य संघ भूकम्प पिडितलाई राहत जुटाउन छुट्टाछुट्टै अपिलसहित जुटेका हुन् ।
रेडक्रसले दमक प्राकृतिक प्रकोप राहत कोषमार्फत राहत संकलन गर्ने कार्य शुरु गरेको जनाएको हो । रेडक्रसले आज एक अपिल निकालेर शनिवार मुलुकमा गएको माहाभूकम्पमा परी ज्यान गुमाउनेका परिवार तथा घाइतेहरुलाई सहयोग गर्ने उद्देश्यले राहत संकलन शुरु गरेको जानकारी गराउँदै सकेको सहयोग गर्न सवैमा आग्रह गरेको छ ।




देश नै शोकमा डुवेको यो दुःखको घडीमा सवै नगरवासीहरुले आफुले सकेको सहयोग गर्न समेत रेडक्रसले आव्हान गरेको छ। राहत कोषमार्फत सहयोग उपलब्ध गराउन चाहने महानुभावहरुले कोषको कन्काई विकास बैंक दमक शाखामा रहेको खाता नम्बर ०५७९१०७ मा सिधै आफुले इच्छाएको रकम जम्मा गर्न सकिने रेडक्रस दमकका सभापति लिला प्रसाद गुरागाईले जानकारी दिए।
यसैगरी, दमक उद्योग वाणिज्य संघले विनासकारी विपतको घटनाले सिङ्गो मुलुक नै शोकमा डुवेको उल्लेख गर्दै राष्ट्रिय संकटमा संयम भई पिडीतहरुको उद्दारका लागि सहयोग सद्भाव जुटाउन आव्हान गरेको छ । महाभूकम्पले कयौं हताहत तथा ठुलो धनजनको क्षति भएका भन्दै दुःखको यस घडीमा धैर्य भई संकट गुजार्न संघले अपिल गरेको छ । उसले पीडितका लागि राहत तथा घाइतेहरुको उपचारका लागि चाहिने रगतको अभाव हुन नदिन सवै उद्यमी, व्यवसायीहरुले यसमा साथ दिन समेत विज्ञप्तीमा जनाइएको छ ।
यसैगरी झापा जिल्ला सहकारी संघले जिल्ला दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाउने भएको छ । आज संघले एक विज्ञप्ती निकालेर महाभूकम्पको विनासबाट भएको अकल्पनीय क्षतिबाट मुलुकबासी संकटबाट गुज्रिएको भन्दै यस विपतमा सहयोग जुटाउन जिल्लाका सम्पूर्ण सहकारी कर्मचारी, सञ्चालक, लेखा समितिका सदस्यहरुले एक दिनको तलव, भत्ता सहयोग गर्ने संघले घोषणा गरेको छ। संघले सहयोग गर्न चाहनेहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडको खाता नम्बर ३०-००००-६-९ मा जम्मा गर्न सकिनेसमेत जनाएको छ।




Comments