अनिल घिसिङ, बेलबारी।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको आम हड्तालका कारण आज केही स्थानबाहेक देशभरको जनजीवन प्रभावित बन्यो ।
मोरङको बेलबारीमा पनि ती दल सम्बद्ध कार्यकर्ताहरुले सवारी आवागमन अवरुद्ध गर्न राजमार्गमा पार्टीका झण्डासहित खाट र बेन्चहरु तेर्स्याएर अवरोध सृजना गरेका थिए। बजारका अधिकांश पसलहरु बन्द रहे।
सडक अवरोधमा खटिएका कार्यकर्ताले साइकललगायत दुई पाङ्ग्रे सवारी साधनहरुलाई रोकेर करिब ५० मिटर डोर्याउन लगाएका थिए । समाचार सङ्कलनका लागि म त्यहाँ पुग्दा प्रेस लेखिएको स्कूटरलाई पनि छेके र डोर्याउन भने ।
कार्यकर्तामध्ये एकजनाले अलि जङ्गिदै भने, 'प्रेसले चाहिँ नियम मान्नु पर्दैन ?' मैले भने। 'खै ! पर्छहोला ।' मलाई गलफथ् गर्न मन थिएन । तर चित्त नबुझेकाले भनिहालें, 'ल ठीकै छ, साइकल, स्कुटर, मोटरसाइकल डोर्याउँला । तर प्रेसको चारपाङ्ग्रे सवारी साधनचाहिँ कसरी डोर्याउनु ?' जवाफ आएन, म उम्किएँ ।
त्यसको केही पर अर्को झुण्डले पूर्वबाट आएका शवबाहन र एम्वुलेन्सहरुलाई रोकेर सोधपुछ, चेकजाँच गर्दै छोड्दै थिए ।
मनमा लाग्यो, 'यस्ता जनशक्तिलाई अपराध अनुसन्धान र भन्सार नाकामा खटाउन पाए कति काइदाको फाइदा हुँदो हो !'
लगत्तै छिमेकी नगरपालिका कोशीहरैंचाको विराटचोक पुगियो। साविक झैं निर्वाध रुपमा पसल, विद्यालय खुलेका थियो। यस्तो लाग्थ्यो, 'त्यो नेपालभन्दा अलग्गै ठाउँ हो ।'
हिजो बेलुकी नै हल्ला आएको थियो, 'यसपाली चैं विराटचोक पनि बन्द गराएरै छाड्ने रे।'
तर, त्यहाँ बन्दको कसैलाई पर्वाह छैन । जुनसुकै पार्टीले आह्वान गरेको बन्द पनि अवज्ञा गर्ने निर्णय गरेका स्थानीय निर्धक्क भन्छन्, 'विराटचोक बन्द हुँदैन नि । किन बन्द गर्नु ?'
त्यहीँको एउटा चिया पसलमा गफ चल्दै थियो, 'बन्द गर्न बाटोमा निस्के पनि त्यो गरीब निमुखाकै भागमा पर्ने हो । बन्दले सास्ती खेप्नेपनि गरीब निमुखाले नै हो । नेताहरु तारे होटलमा समाचार हेर्दै कफी पिउँछन् । बरु जनतालाई दुःख दिनुभन्दा अनसन बस्नु नि, डा. केसीले जस्तो ।'
कोही भन्दै थिए, 'नेताहरुको त कहाँ त्यस्तो हुति हुनु ?'
फर्कँदा बाटोमा सोंच्दै आएँ, 'हो त, विराटचोकमा पनि त यी दलका नेता कार्यकर्ता छन् । उनीहरुलाई बन्द नगर्दा केहि भएन । तिनै दलका बेलबारी क्षेत्रका नेता कार्यकर्ताले बन्द गराउँदा के पाए ? अनि बन्द नगर्दा कोशीहरैंचा विराटचोककाले के गुमाए ??'
Comments
Post a Comment