बलात्कारीलाई जन्मकैदको माग





३० चैत, उर्लाबारी।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलाले बलात्कारीलाई सर्वस्वसहित जन्मकैदको कानुन निर्माण गर्न माग गरेकी छिन् ।
नेपाल महिला संघ मोरङ क्षेत्र नम्बर ९ को आयोजनामा उर्लाबारीमा सोमबार आयोजित 'राजनीतिमा महिला विषयक्' अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा बलात्कारका घटनालाई नियन्त्रण गर्न कडा कानुन आवश्यक रहेको बताइन्।


उनले महिलामैत्री संविधान निर्माण गर्न माग गर्दै संवैधानिक निकायमा पुरुष र महिलाको समान सहभागिता हुनुपर्नेमा समेत उनले जोड दिइन् । नयाँ नेपाल निर्माणका लागि महिलाको भूमिका आवश्यक रहेको उल्लेख गर्दै सङ्ग्रौलाले विज्ञान र प्रविधिको विकासमा महिला अग्रसर हुनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नं. ९ का सभासद डिगबहादुर लिम्बुले पनि बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरे । बलात्कारीलाई मृत्युदण्डको सजाय नभएसम्म एकपछि अर्को बलात्कारका घटना बढ्दै जाने उनको भनाई थियो। उनले आमाको नामबाट छोरा-छोरीलाई नागरिकता दिलाउन संविधानसभामा छलफल भइरहेको पनि बताए ।

Comments