मगर र शेर्पा बने भुटानी बाल तारा


हेम गिरी, पथरी।
भुटानी बाल तारा २०१५ कार्यक्रमको चर्चा कार्यक्रम हुनुभन्दा अगाडीदेखि नै भएको थियो । भुटानी शरणार्थी शिविरभित्रको सांगीतिक माहोललाई तताउनको लागि यो कार्यक्रमको बिशेष भूमिका रहेको र बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न ठुलो सहयोग हुने शरणार्थीले बुझेका थिए ।
गएको शुक्रबार सम्पन्न प्रतियोगितामा सहभागी प्रतियोगीहरूको स्वरको मिठास र नृत्य गर्ने तरिका त करिब-करिब सबैको उस्तो उस्तै थियो । यही द्विविधाका बीच निर्णायक मण्डलका समिर बिक, नरेश लिङदेन अनि डम्बर भट्टराई र कमला राईले घोषणा गरे, '२०१५ का लागि गायन विधामा शिविरका बालतारा इन्द्र बहादुर मगर र नृत्य विधाको लागि जुनकिरी शेर्पा ।'



मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविर शनिश्चरेमा १७ अप्रिलमा भएको अन्तर शिविरस्तरीय बाल गायन र नृत्य प्रतियोगिताबाट १८ वर्षीय इन्द्र बहादुर मगर र १६ वर्षीया जुनकिरी शेर्पा बालतारा २०१५ घोषित भएका हुन् । ९ जना प्रतिस्पर्धीलाई पछि पारेका इन्द्रले 'फर्की आउ...' गीत उही शैलीमा गाएर उपाधिमाथि कब्जा जमाएका थिए । स्वरमा माधुर्य पस्किएका इन्द्रले निर्णायक मण्डलीलाई मात्र नभै उपस्थित दर्शकलाई पनि लठ्ठ पारेका थिए । त्यसैगरी जुनकिरीले नेपालको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेकी थिइन्। जुनकिरीले ९ जना प्रतिस्पर्धीलाई पछिपार्दै उपाधि कब्जा गरेकी हुन्।



युएनएचसीआर र एलडव्लुएफको प्रयोजना अनि खबर पत्रिका, भानु तिवारी, सफल होटल र पूर्बेली होटलको आर्थिक सहयोगमा शनिश्चरे शिविरको बालमञ्चले उक्त प्रतिस्पर्धाको आयोजना गरेको हो । पूर्वी नेपालको झापा र मोरङमा रहेको ३ वटा शिविरका १८ जना बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने हेतुले आयोजित कार्यक्रममा 'बाल तारा' घोषित हुन शिविर स्तरमा करिब १ हप्ता सम्ममा ५० जना बालबालिकाको दौडधूप चलेको थियो, जसमध्ये २२ जना प्रतियोगी पहिलो चरणबाट बाहिरिएपछि उत्कृष्ट १८ जनाबीच प्रतिस्पर्धा गराइएको थियो ।
गायन विधाको प्रतियोगितामा खाओत हाङ् सुब्बा दोस्रो अनि निशान राई तेस्रो र नृत्य विधाको प्रतियोगितामा चन्द्रकला राई दोस्रो अनि मनिता सुब्बा तेस्रो हुन सफल भएका छन् ।
प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रोलाई क्रमसः नगद २ हजार १, १ हजार १ र ५ सय १ रूपैयाँ नगद पुरस्कारका साथै ट्रफी र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका बिशेष अतिथि शनिश्चरे शिविर स्थित सशस्त्र प्रहरी बल बेसका प्रमुख शम्भु कुमार मगर र सिडब्लुटिका टीका संयोजक डिबी गुरुङले विजेताहरूलाई पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।


Comments