पूर्व प्रधानमन्त्री थापाको निधन



३ बैसाख, काठमाडौं।
पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको नयाँ दिल्लीमा बुधबार राति निधन भएको छ । नेपाली राजनीतिका महत्वपूर्ण व्यक्तित्व थापाको पेटको उपचारका क्रममा दिल्लीस्थित मेदान्ता अस्पतालमा निधन भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका थापाको मेदान्तामा उपचारका क्रममा निधन भएको पुष्टि राप्रपाका प्रवक्ता किरण गिरीले गरेका छन् । यसअघि मुटुको रोगबाट पीडित थापालाई पछिल्लो समय पेटको रोगले सताएको थियो ।




श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । शुक्रबार आन्द्राको सफल शल्यक्रिया भएपछि थापालाई चिकित्सकहरुले थप १५ दिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सल्लाह दिएका थिए ।
स्वास्थ्य जाँचका लागि चैत १६ गते दिल्ली पुगेका थापाको गत शुक्रबार आन्द्राको सफल शल्यक्रिया भएको थियो । थापाको उपचारकै क्रममा थापाको निधन भएको उनका नाति सिद्धार्थ थापाले पुष्टि गरे । उनका अनुसार थापाको शव बिहीबार काठमाडौं ल्याउने तयारी भएको छ ।
मेदान्ता अस्पतालमा वरिष्ठ सर्जन आदर्श चौधरी नेतृत्वको टोलीले थापाको शल्यक्रिया गरेको थियो। बुबाको उपचार व्यवस्थापन तथा रेखदेखका लागि बाणिज्य तथा आपूर्तिमन्त्री रहेका थापाका छोरा सुनिल पनि नयाँ दिल्ली पुगेका थिए ।
थापाले आफ्नो ८८ औं जन्मोत्सव गत चैत ५ गते काठमाडौंमा मनाएका थिए । पञ्चायत तथा बहुदलपछि ५ पटकसम्म प्रधानमन्त्री हुन सफल थापाको जन्म धनकुटा जिल्लाको मुगा गाविसमा भएको थियो ।
थापा पछिल्लो पटक तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि प्रधानमन्त्री बनेका थिए ।


Comments