चिया उद्योगी र किसानबीच पाँचबुँदे सहमति




८ बैशाख, बिर्तामोड।
हरियो चिया पत्तीको मूल्यका विषयमा झापामा उद्योगी र किसानबीच देखिएको विवाद पाँच बुदे सहमतिमा टुंगिएको छ ।
संवाद समूहको संयोजनमा झापाको बिर्तामोडमा आज मंगलवार उद्योगी, किसान, राजनीतिक दल तथा प्रशासनका प्रतिनिधिबीच भएको बार्तामा विवाद टुंग्याउने सहमति भएको हो ।
सहमतिअनुसार नेपाल चिया उत्पादक संघ र साना किसान झापाली चिया व्यवसायी संघ गुणस्तरीय चिया उत्पादन र विक्री वितरणमा प्रतिबद्ध रहने, चियाको गुणस्तरमा एकरुपता ल्याउने रहेको छ । चियाको गुणस्तर कायम गर्न बैशाख १६ गते देखि १६ प्रतिशत फाइन लिक (ग्रेड) भन्दा कमको पत्ती किसानले पनि नदिने र उद्योगीले पनि नलिने सहमति भएको छ । उक्त सहमति अनुसार उद्योगीले समेत उक्त ग्रेडभन्दा कमको हरियो चिया पत्तीको चिया उत्पादन गर्न पाउने छैनन् ।



गुणस्तरमा एकरुपता मापन गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा प्रशासन, उद्योगी र किसान समेतको अनुगमन समिति बनाइ गुणस्तर र चियाको मूल्य बारे अनुगमन गर्ने सहमति भएको छ । अनुगमनबाट प्राप्त प्रतिवेदन आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने समेत सहमति भएको छ ।
त्यस्तै २०७२ साल बैशाख ८ गतेदेखि १५ गतेसम्म (एक साता) उत्पादन हुने १६ प्रतिशत फाइन लिकभन्दा तल ११देखि १५प्रतिशत फाइन लिकसम्मको हरियो चियापत्तीको मूल्य अढाई रुपैयाँको अन्तर कायम राखी निर्धारण गर्ने सहमति भएको छ । जस अनुसार ११देखि १५प्रतिशत फाइन लिकसम्मको प्रति किलो हरियो चियापत्तीको मूल्य १६ प्रतिशत फाइन लिकको भन्दा कम हुनेछ ।
हरियो चियापत्तीको मूल्य निर्धारणका विषयमा २०७१ जेठ १९ गते भएको सहमति र आजको सहमति अक्षरशः कार्यान्वयन गर्ने तथा अन्य कुनै विषय विवाद सृजना भए दुबै व्यवसायी संघका प्रतिनिधिबीच आपसी सहमतिमा समस्या समाधान गर्ने समेत सहमति भएको छ ।
सहमतिमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा, राष्ट्रिय चिया तथा विकास बोर्डका प्रमुख इन्द्र अधिकारी, स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, नेपाली कांग्रेसका उपसभापति देउमान थेवे, नेकपा एमालेका सचिव मदन अधिकारी र एकीकृत नेकपा माओवादीका सचिव कृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् ।



त्यस्तै किसानहरुको तर्फबाट साना किसान झापाली चिया व्यवसायी संघका अध्यक्ष पूर्णबहादुर कार्की, सुदीप श्रेष्ठ, पृथ्वीनारायण कार्की र मेघराज रेग्मीले हस्ताक्षर गरेका छन् भने चिया उत्पादक संघका तर्फबाट सुवास संघाई, भक्ति अधिकारी, आदित्य पराजुली र रमेश पराजुलीले हस्ताक्षर गरेका छन् ।
संवादको सहजीकरण संवाद समूह झापाका सचिवालय संयोजक दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
अघिल्लो वर्ष किसान र उद्योगीवीच लामो समयसम्म चर्किएको विवाद झापाका राजनीतिक दलहरुको सहजीकरण र संवाद समूहकै संयोजनमा टुङ्गिएको थियो । २०७१ जेठ १९ गते उक्त सहमति भएपछि वर्षौं देखिको चिया विवाद हल भएको छ भने मंगलबारको सहमति झापामा अब गुणस्तरीय चिया उत्पादनका लागि कोसेढुंगा बन्ने उद्योगी तथा किसानले बताएका छन् ।


Comments