लेटाङमा खानेपानी आयोजनाको निर्माण अन्तिम चरणमा




३० चैत, लेटाङ।
मोरङको लेटाङ-भोगटेनी नगरपालिकामा दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना सम्पन्न हुन लागेको छ ।
लेटाङमा अबको डेढ महिनाभित्र खानेपानीको आयोजना सम्पन्न हुने खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्था लेटाङका अध्यक्ष शंकर राईले जानकारी दिए । १८ महिने परियोजना अन्तर्गत अगष्ट सन् २०१३ बाट सुरु भएको आयोजना लक्षित समयभन्दा ५ महिना ढिला गरी सम्पन्न हुन लागेको हो । आयोजना निर्माणका क्रममा स्थानीय भूवा खोलाबाट बेला-बेलामा भएको अवरोधका कारण आयोजना निर्धारित समयभन्दा ५ महिना ढिला हुन पुगेको हो । त्यस्तै प्राविधिक काममा समेत बढी समय खर्च हुँदा जनवरी २०१५ मा सक्नु पर्ने आयोजना नसकिएको हो ।



आयोजना निर्माणमा खटिएका इन्जिनियर कमल नारायण सरदारका अनुसार आयोजनाको ८८.९ प्रतिशत काम सम्पन्न भएको छ । २१ करोड रूपैयाँको लागतमा सुरु भएको आयोजना लागत बढेर सम्पन्न हुँदा २८ करोड पुग्ने समेत इन्जिनियर सरदारले बताए । लेटाङ खानेपानीका लागि २ वटा ओभरहेड ट्याङ्की निर्माण गरिएको छ भने २ वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ओभरहेड ट्याङकीमध्ये एउटामा २ लाख २५ हजार लिटर तथा अर्कोमा २ लाख लिटर पानी अट्ने क्षमता छ । त्यस्तै रिजर्भ ट्याङ्कीको क्षमता एउटा २ लाख र अर्को ५० हजार लिटरको हुने इन्जिनियर सरदारले बताए ।
आयोजनाले ४ हजार २० वटा धारा जोड्ने लक्ष्य राखेको छ ।



Comments