दमकको ५१ कि.मि. सडकको स्तरोन्नती



६ बैशाख, दमक।
दमक नगरपालिकाले यस आर्थिक वर्षमा नगर क्षेत्रभित्र ५१ किलोमिटर सडकको स्तरोन्नती गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न वडाहरुमा रहेका १८ वटा नयाँ तथा पुराना गरी ५१ किलोमिटर सडकको स्तरोन्नती गरेको हो । कार्यमुल्यांकनको आधारमा १ करोड ४० लाख रुपैयाँ वरावरको सडक स्तर उन्नती तथा विस्तार गरिएको दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले जानकारी दिए । तर नगरपालिका क्षेत्रभित्र रहेका सडकहरुको स्तर उन्नतीका लागि सडक कार्यालयले आवश्यक यन्त्र तथा उपकरणहरु उपलब्ध गराइदिएका कारण ती सडकहरुको स्तर उन्नतीका लागि दमक नगरपालिकाको ६७ लाख रुपैयाँमात्र खर्च भएको श्रेष्ठले जानकारी दिए ।



नगरपालिकाकाले यसै आर्थिक वर्षमा स्तर उन्नती गरेका मुख्य सडकहरुमा दमक चक्रपथ, हाइबे-सेतुमारी, जहदा-खरखरे, कृष्णमन्दिर-ढुकुरपानी-बेलडागी, तारावारी-डिपु, हिमावि-मधुमल्ला, पाथिभरा नेत्रालय लगायत रहेका छन् । स्तर उन्नती गरिएका मुख्य तथा शाखा सडकहरुमध्ये कतिपय सडकहरुको चौडा गर्ने कामसमेत भएको छ । त्यसरीनै कतिपय सडकहरुमा ग्राभेल गर्ने काम समेत भएको जनाइएको छ ।
यसपटक नगरपालिकाले स्तरोन्नती गरेका अधिकांश सडकहरु नगरको ग्रामिण भेगमा पर्दछन् । यसअघि ती सडकहरुको स्तरोन्नती नगरिँदा दैनिक आवागमनमा निकै समस्या हुँदै आएको थियो । नगरपालिकाले नगर क्षेत्रमा रहेका अधिकांश मुख्य ग्रामिण सडकहरुको स्तरउन्नती गरिदिँदा कृषि क्षेत्रलाई पनि प्रत्यक्ष फाइदा पुगेको दमकका ग्रामीण वडाका किसानहरूले बताएका छन् ।







Comments