उभौली नमनाइने




१७ बैशाख, दमक।
'अन्नपात राम्रो फलोस्, किरा फट्ङ्याग्रा नलागोस् र हावाहुरी अनि भेलवाढी नलागोस्' भन्दै प्रकृतिलाई पूजा गरी साँस्कृतिक पर्व मनाउने किरात राईहरु यस वर्षको उभौली नमनाउने भएका छन् । नयाँ वर्षको सुरुवातसँगै किरात राई समुदायहरुमा हर्षोल्लासका साथ नेपाल र अन्य मुलुकहरुमा समेत मनाउने गरिएको साकेला/साकेवा भूकम्पले राष्ट्रिय शोक भएको भन्दै स्थगन गरिएको हो।
बिहीबार झापाको दमकमा पत्रकार भेटघाटको आयोजना गरी किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ्ग राईले देशभरी भूकम्पले पुर्‍याएको भौतिक तथा मानविय क्षतिले राष्ट्रिय शोक परेको भन्दै उभौंली पर्व यस वर्षलाई स्थगन गरिएको बताए । केन्द्रीय कार्यालय काठमाण्डौवाट प्राप्त निर्देशनअनुसार सवै जिल्लाहरुले आ-आफ्ना कार्यक्रम तालिका स्थगन गरिएको समेत जानकारी गराए । अध्यक्ष राईले भने, 'किरात राईहरुले महान चाडपर्वको रुपमा मनाउँदै आइरहेको साकेला उभौली पर्व झापामा सवै गाविस, नगर र क्षेत्रमा आयोजनाका बारेमा प्रचारप्रसार भइसकेको भएपनि स्थगन गर्नुपरेको छ।'




'वर्षैपिच्छे मनाउँदै आइरहेका थियौं', अध्यक्ष राईले भने, 'यसवर्ष देशमा परेको अकल्पनीय दैवि प्रकोपका कारण देश शोकमा डुवेको अवस्थामा कार्यक्रमहरु गर्न राम्रो हुँदैन।' उनले महाभूकम्पवाट मृत्यु भएकाहरुलाई शोक ब्यक्त गर्दै र अङ्गभङ्ग भई घाइते अवस्थामा उपचार भइरहेकाको उपचारमा सहयोग गर्न आग्रह गरे । ढोल झ्याम्टा सहित नाचगान नगरेपनि साकेला उभौली २०७२ (येलेदोङ ५०७५) विधिवत पूजाआजा मात्र गर्ने चाम्लिङ्गद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैशाख २१ गते सोमबार पूर्णिमाको दिनदेखि जेष्ठ ९ गते शनिबारसम्मको जिल्ला र विभिन्न नगर र प्रारम्भिक कार्यसमितिको आयोजनामा विभिन्न ठाउँहरुमा निर्धारण गरिएको कार्यतालिकासमेत स्थगित गरिएको किरात राई विद्यार्थी संघका केन्द्रीय सदस्य सुसन राईले जानकारी गराए ।





Comments