युएईमा आदिवासी जनजाति महोत्सव हुँदै




रामकुमार परियार
२२ अप्रिल, युएई ।
विगत ८ वर्षदेखि युएईमा आफ्नो सांस्कृतिक परम्परा र सम्पदाको संरक्षण र प्रवर्द्धनमा कृयाशील आदिवासी जनजाति महासंघ युएईले आगामी मे १ तारिख दुबईमा भव्य आदिवासी जनजाति महोत्सवको आयोजना गर्ने भएको छ ।
दुबईस्थित जाविल पार्कमा आयोजना गरिने महोत्सवमा युएईमा कृयाशील विभिन्न १० जातिय संस्थाले आ-आफ्ना मौलिक परम्परा, संस्कृति, भेषभुसा र खाद्य परिकारको प्रदर्शन गर्ने आयोजक आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डोरराज गुरुङले बताए । आधुनिकतासँगै संकटमा पर्दै गएको आदिवासी जनजातिका संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्नका निम्ति प्रवासबाटै भएपनि पहल गरिएको गुरुङले जानकारी दिए ।



महोत्सवमा राई, लिम्बू, गुरुङ, नेवार, थारु, माझी, नेवार, शेर्पा, भुजेल र तामाङ जातिका परम्परागत धर्म-संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने महोत्सव आयोजक समितिका संयोजक एवं महासंघका उपाध्यक्ष चन्द्र शारु मगरले बताए । महोत्सवमा साकेला, सोरठी, च्याब्रुङ, सालैजो, तामाङ सेलो, लाखे आदि सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिने उनले जानकारी दिए । महोत्सवमा युएईको दुबई, अबुधाबी, अलएन, फुजेरा, रस एल खेमा लगायतका राज्यहरुबाट नेपाली सहभागी हुने मगरले बताए । साथै उनले महोत्सवमा उपस्थित जनाई सफल पारिदिन युएईभरी छरिएर रहेका सम्पूर्ण नेपालीलाई आग्रहसमेत गरेका छन्।
स्मरण रहोस् २००७ सालमा केही सिमित व्यक्तिबाट गठन गरिएको आदिवासी जनजाति महासंघ युएई शाखाले आपत विपतमा परेका नेपालीहरुको उद्दार र सहयोग गर्दै आएको छ भने आफ्नो संजालसमेत बढाएर युएईमा आदिवासी जनजातिको पक्षमा थुप्रै सामाजिक कार्यहरु संचालन गरिसकेको छ ।


Comments