वधशाला व्यवस्थित गर्न माग




तेजन खड्का
९ वैशाख, उर्लाबारी।
मोरङको उर्लाबारी क्षेत्रमा अनियन्त्रितरुपमा भइरहेको पशुपंक्षीको मासु बेचबिखनलाई व्यवस्थित गर्न नगरपालिका गैह्र जिम्मेवार भएपछि एमाले इलाका कमिटीले चासो देखाएको छ ।
इलाका कमिटीका अध्यक्ष सूर्य गुरागाईंको नेतृत्वमा रहेको टोलीले आज नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठलाई वधशाला व्यवस्थित गर्न अनुरोध गरेको हो ।
राजमार्ग र सडक छेउमै मासु बेखविखन गर्नाले दुर्गन्ध फैलिएर जनस्वास्थ्यमा प्रतिकुल असर परेको अध्यक्ष गुरागाईंले बताए। जथाभावी मासु बेचबिखन गर्नाले हैजाको प्रकोप फैलन सक्नेतर्फ सचेत गराउँदै गुरागाईंले कार्यकारी अधिकृत श्रेष्ठलाई ज्ञापन पत्र बुझाए। राजमार्ग छोएर गरिने मासु बेचबिखनमा प्रतिबन्ध लगाइनुपर्ने, सडकदेखि कम्तिमा १५ फिट टाढा मात्र मासु बेचबिखन गर्न दिइनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


नगरपालिकाका कार्यकारी अधिकृत श्रेष्ठले वधशाला निर्माण गर्ने जिम्मा पशुपंक्षी निर्देशनालयको भएको जवाफ दिँदै उर्लाबारीमा व्यवस्थित वधशाला निर्माणका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको दाबी गरे। अनियन्त्रित रूपमा मासु बेचबिखनको सम्बन्धमा नगरपालिकाले मापदण्ड तयार पारेर मासु बेचबिखन गर्ने क्षेत्र तोक्ने उनले आश्वासन दिए।
यसैबीच एमाले इलाका कमिटीले लोडसेडिङको समयमा मोबाइल अवरुद्ध हुने समस्या औंल्याउँदै नेपाल टेलिकम शाखा उर्लाबारीमासमेत ज्ञापनपत्र बुझाएको छ । एमाले इलाका कमिटिले मधुमल्ला, टाँडी र रमितेखोला गाविस कार्यालयमा समेत ज्ञापन पत्र बुझाइने गुरागाईंले जानकारी दिए।
एमाले इलाका कमिटीले सडक बत्तीको सुरक्षाका लागि समेत नगरपालिकासँग अनुरोध गरेको छ ।



Comments