जसले गुमाए आफ्ना दुई प्यारा भाञ्जी




विष्णु सुब्बा, दमक।
१७ बैशाख, दमक।
झापाको गौरादहका मोहनलाल गिरीलाई बेलाबेला मसिनो बोलीमा मामा भन्दै सम्बोधन गर्ने दुई भाञ्जीहरु अब रहेनन् । राजधानीको गौशालामा मोहनलालका भाई भिमलालका साथ बस्दै पढिरहेका १२ बर्षीया समिक्षा र १४ बर्षीया सोनु गिरीका शब गएको शनिबार दिँउसो भुकम्पले भत्काएको घरको भग्नाबशेषबाट भिकियो । दुई दिदीवहिनीको एकैसाथ भुकम्पमा ज्यान गएपछि गिरी परिवार यतिखेर पूरै शोकमा


डुवेको छ ।


मोहनलालकी जेठी दिदी साबित्रा दशकअघि पति मुकेश दिवंगत भएपछि छोरी समिक्षासाथ माइतीको आडभरोसामा बस्दै आएकी थिइन्। उनकी सहोदर बहिनी गिता पनि छोरी सोनु, दाजुभाई र दिदी साबित्राका साथ बस्दैआएकी थिइन्। उनका श्रीमान मखनलाल पनि ९ बर्षदेखि बेपत्ता छन्।
'उनीहरु टिभी हेरिरहेका थिए रे', दुई भाञ्जीको फोटो देखाउँदै मोहनलालले भने, 'उनीहरुका आमाहरु चाँहि भर्खरै कोठा बाहिर निस्किएका थिए रे ।'
अत्यन्तै डरलाग्दो सपनाबाट भर्खरै ब्युँझिए जस्तै हालतमा रहेका उनले अगाडि भने, 'आफ्ना आँखाले नदेखेर होला, मनले पत्याइरहेको छैन ।'
पहिले गौरादहमै बसेका एकल आमाहरुले पालेका छोरीहरुको एकसाथ मृत्युको दुःखी खबरले उनीहरुका टाढाका नातेदारहरु र गाउँलेमा पनि पिडा दिएको छ ।


तस्वीर – भूकम्पका कारण मृत्यु भएका दुई भान्जीको तस्वीर देखाउँदै मामा मोहनलाल । (विष्णु सुब्बा)

Comments