अन्ततः गइन् मुना





२४ चैत, उर्लाबारी।
दुबै मृगौला बिग्रिएर थलिएकी मोरङ राजघाट-९ दुर्गापुरीकी ३२ बर्षिया मुना कुमारी धिमालको आज विहान निधन भएको छ । उनको बक्राहा खोलामा जातीय परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।
तीन वर्षदेखि दुबै मृगौला बिग्रिएपछि थलिएकी धिमालको मृगौला प्रत्यारोपण हुन नसकेपछि मृत्यु भएको हो । मृगौला प्रत्यारोपण हुन नसकेपछि मुनाले लामो समयसम्म डाइलोसिस मात्र गर्दै आएको मुनाका भाई रमेश धिमालले बताए। मुनाकुमारीलाई बचाउन विभिन्न संघसंस्थाहरुले रकम संकलन गरेका थिए ।
मुनालाई उनकी आमा बिष्णुमायाले मृगौला प्रत्यारोपण गर्न तयार भएपनि 'म्याचिङ' नभएको कारण डाइलोसिस गरिँदै आएको थियो ।




आर्थिक अवस्था नाजुक भएकी मुनाको उपचारको लागि राजघाट हङकङ समाज, उर्लावारी यूवा परिवार, राजघाट परिवार लगायतले मुनाकुमारी धिमाल बचाउ अभियान सञ्चालन गरेर रकम संकलन गरेका थिए । उनको उपचारको लागि देश विदेशमा रहेका नेपालीहरुद्वारा करिब ११ लाख रूपैयाँ संकलन गरिएको थियो ।
मृतकका परिवारलाई काजकिरियामा सहज होस् भनेर आज राजघाट-५ दुर्गापुरीका ब्यवसायी हेम गुरुङले नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् । राजघाट परिवारका संयोजक नारायण बस्नेतले मिनालाई बचाउन अथक प्रयास गरेपनि नसकिएको बताए। उनले उपचारका लागि देशविदेशबाट आर्थिक सहयोग गर्नुहुने सवैलाई धन्यवाद प्रकट गरेका छन् ।
मुना अरनिको उच्च माविका पूर्व परिचर स्वर्गीय भक्त धिमालकी छोरी हुन् ।



Comments